विराटनगर : नेपाली लेखक सङ्घ कोशी प्रदेशको आयोजनामा यही जेठ २६ गते विराटनगरमा विशेष साहित्यिक सभा हुने भएको छ ।

नेपाली लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सो संस्थाको सचिवालय समितिको बैठकबाट सबै प्रदेशका साहित्यकारहरूलाई पालैपालो कोशी प्रदेशमा आमन्त्रण गरी स्रष्टा सम्मान एवं प्रदेश-प्रदेशबिचको साहित्यिक गतिविधिका विषयमा अन्तरसंवाद गर्दै जाने निर्णय गरिएको छ ।

‘एउटा प्रदेशसँग अर्को प्रदेशका स्रष्टा’ शीर्षकको शृङ्खला कार्यक्रमको सबैभन्दा पहिलो शृङ्खलामा गण्डकी प्रदेशका स्रष्टाहरूको आगमन जेठ २६ गते कोशी प्रदेशको विराटनगरमा हुनेछ । ‘यस्ता कार्यक्रमले एक प्रदेशका स्रष्टा र अर्को प्रदेशका स्रष्टाबिच सम्बन्ध विस्तार हुनेछ,’ अध्यक्ष अधिकारीले भने, ‘कला, साहित्य र संस्कृतिको समेत आदानप्रदान हुने हाम्रो विश्वास छ ।’

लेखक सङ्घ कोशीका महासचिव मीनकुमार नवोदितका अनुसार मूलतः कविता वाचनमा केन्द्रित समारोहमा कोशी प्रदेशका सबै जिल्लाका स्रष्टाहरूको प्रतिनिधित्व रहनेछ भने गण्डकी प्रदेशको साहित्यको विविध आयाम अनि कोशी प्रदेशको साहित्यको विद्यमान अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र पनि प्रस्तुत गरिनेछ ।

सो अवसरमा गण्डकी प्रदेशका अग्रज स्रष्टालाई सम्मानसमेत गरिने महासचिव नवोदितले जानकारी दिए ।

२००८ सालमा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतको सक्रियतामा स्थापित लेखक सङ्घको ७ वटै प्रदेश र करिब ७० जिल्लामा सङ्गठन विस्तार भइसकेको छ ।