धरान : वडाध्यक्ष, कार्यपालिका सदस्यहरूले बजेटमा सहमति जनाएपछि नगरसभाका लागि सबै तयारी पुरा भएपनि आर्थिक वर्षको अन्तिम दिन हिजो सोमवार पनि धरान उपमहानगरपालिकाको नगरसभा भएन ।

अबेर रात ९ बजे सम्म जनप्रतिनिधिहरू नगरसभाका लागि पर्खिरहेका थिए । तर कार्यपालिका बैठकमा ३ निर्णय मध्ये १ निर्णय करार कर्मचारीको करार स्वतः नवीकरण हुनुपर्ने कार्यपालिका सदस्यहरूको अडानमा मेयर हर्क साम्पाङ सहमत नभएपछि नगरसभा हुन नसकेको हो ।

नगरसभा नभएपछि प्रवक्ता वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज)ले भने ‘निर्णय सच्याएर नगरसभा गरौँ भन्दा मेयर सम्पाङ फुत्त गाडी चढेर हिँडेका कारण नगर सभा भएन ।’

करार कर्मचारीलाई लोकसेवा आयोगले पदपूर्ति मागको अवसर नआउन्जेल सम्मका लागि सबै करार कर्मचारीलाई नवीकरण गरेर जान आग्रह भएको थियो । तर मेयर साम्पाङले असार १० गते भएको कार्यपालिकाको निर्णयलाई ड्टपेनले केरमेट गर्दै निर्णयमा करार कर्मचारीको कार्यकुशलता, सन्तोषजनक नभएकोलाई हटाउने निर्णय भएको भनी सच्याएकोमा दिउँसो बसेको कार्यपालिका बैठकमा समेत विरोध भएको वडा अध्यक्ष भट्टराईले बताए ।

करार कर्मचारीको करारनामामा समेत विधि प्रक्रिया उल्लेख भएको र कार्य सन्तोषजनक र कार्यकुशलता नभए कारबाही गर्न सकिने व्यवस्था भएतापनी मेयर साम्पाङको एक निर्णय जिद्दीपनले गर्दा नगरसभा नभएको उनको भनाई छ ।

कार्यपालिकाबाट बजेट पास भई सकेको तर नगर सभाबाट बजेट अनुमोदन गर्नुपर्ने व्यवस्था भएपनि मेयरको नगरसभा गर्ने इच्छा नभएकोले नगरसभा हुन नसकेको प्रवक्ता तथा वडा अध्यक्ष भट्टराईले बताए ।

सोमबार हुने नगरसभा नभए पछि नगरसभा सदस्यहरूले नारा जुलुस समेत गरेका थिए । नगरसभामा प्रवेश गरेकी दिव्यरोशनी साप्ताहिक सम्पादक मनिता चाम्लिङले समेत मेयरको पक्षमा बोलेर नगरसभामा अवरोध पुगेको एक नगरसभा सदस्यले बताए ।