धरान : बजेटमै सहमति हुन नसकेपछि सोमवार सैनिक भवनमा तयारी गरिएको धरान उपमहानगरपालिको नगरसभा बस्न सकेन । नगरसभा अघि कार्यपालिकाले पारित गर्नु पर्ने बजेट पास नभएकोले नगरसभा बस्न नसकेको हो ।

उपमेयर अइन्द्रविक्रम बेघाका अनुसार मेयर हर्क साम्पाङले लचकता नअपनाउँदा नगरसभा उद्घाटन समेत हुन सकेन । उनले भने ‘मेयर साम्पाङले ֯स्रोत तथा सीमा निर्धारण समितिको बैठक, विषयगत समितिको बैठक नराखेको कारण नगरसभा नभएको हो।’

सोमबार साँझ ४ बजे हुने भनिएको नगर सभा, मेयर साम्पाङले बजेट सीमा निर्धारण समितिबाटै सीमा निर्धारण नभएको कारण हुन नसकेको उपमेयर बेघाले बताए ।

उनले भने, ‘बजेट तर्जुमा समितिको बैठक बस्न सकिरहेको छैन । बजेटको ब्रेक डाउन भएको छैन ।’ अब कहिले नगरसभा हुन्छ ? भन्ने जिज्ञासामा उपमेयर बेघाले भने, ‘नगर प्रमुखले जहिले चाहनुहुन्छ त्यसमा भर पर्छ ।’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्था अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने हुन्छ ।

मेयर साम्पाङले बजेटका विषयमा आफ्नो अडान नछाडेकाले नगरसभा सुरु नै नभएको धरान १६ का अध्यक्ष मुरारी भट्टराईले बताए । बजेट सिलिङ आएन, बजेट निर्धारण समिति तथा तर्जुमा समितिको बैठक बस्न नसकेको उनको भनाई छ ।

उनले भने ‘नगर सभा नहुँदा धरानको म्यासेज राम्रो जाँदैन भनेर उद्घाटन गरी नीति तथा कार्यक्रम  प्रस्तुत गरेर जाऔँ भनेका थियौँ । तर मेयरले बजेटको अन्तिम बटमलाइन यही भनेकोले उद्घाटन हुन सकेन ।’

उनका अनुसार कार्यपालिका बैठकमा भएको सहमति पनि मेयर साम्पाङले कार्यान्वयन गर्न नमानेकाले नगर सभा उद्घाटन भएन ।

धरान-१५ अध्यक्ष नरेश ईवारमले बजेट नीतिगत रूपमा बजेट नल्याउँदा नगरसभा नभएको बताए । उनका अनुसार सङ्घीय, प्रदेश र स्थानीय तहको दायित्व तथा खर्च शीर्षकको ब्रेक डाउनसहितको बजेट आउनुपर्नेमा नआएकोले नगरसभा हुन नसकेको हो ।

उनले भने, ‘अमूर्त बजेट ल्याउनु भयो, नियमअनुसार जाऔँ भन्दा मेयर मान्नु भएन । त्यसैले नगरसभा नहुन सकेन ।’

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईले नगरसभा हुनुपर्ने बताउँदै भने, ‘कानुन अनुसार हुन्छ ।’ असार १० मा नगर सभा हुनुपर्ने व्यवस्था छ नि ? भन्ने जिज्ञासा प्रमुख अधिकृत राईले भने, ‘नगरको कार्यसम्पादन मूल्याङ्कनमा फरक पार्छ ।'