इटहरी : इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माणको काम सुरु भएको छ । मुख्य चोकको धरान लाइन हाल सार्वजनिक शौचालय नजिकै र विराटनगर तर्फ हटिया लाइनमा आकासे पुल निर्माणको काम सुरु भएको हो ।

२०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वध्वज साँवाले ‘आहा ! इटहरी’ को कल्पना सहित सेल्फी हान्ने आकासे पुल बनाउने उद्घोष गरेका थिए । आकासे पुल निर्माण गरेर नयाँ आगन्तुकको भेट्ने ठाउँ बनाउने भाषण गरेका सावाँ सोही बाचा सहित प्रदेशसभा सदस्य निर्वाचित भए ।

तर पुल निर्माणको लागि त्यस बिचमा कुनै पनि प्रक्रिया अगाडी बढेन । उनीसँगै चुनावमा पराजित नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेल हाल इटहरी उपमहानगरपालिकाको मेयर छन् । मेयर पौडेलले इटहरी बासीको आकासे पुलको सपना पुरा गर्न लागेको बताएका छन् ।

रिजेन्सी बिल्डर्स प्रालीले ४ करोड ५१ लाख ६३ हजारमा ठेक्का पाएको दुई वटा पुल २०८१ फाल्गुन १६ मा सम्पन्न गर्नेगरि सम्झौता भएको छ । धरान लाइनमा ३५ मिटर र विराटनगर लाइनमा २७ मिटर लामो पुल निर्माणको लागि २०८० फाल्गुनमै सम्झौता भएको हो ।

सडक विभाग सँग समन्वय गरिरहेको उपमहानगरपालिकाले अनुमति पाउनासाथ काम अगाडी बढ्ने बताएको छ । यसअघि उपमहानगरपालिकाले ६ लेन सडक आयोजनालाई समन्वय गर्न आग्रह गरे पनि सडक विभागको अनुमति लिएर आउन भनेपछि सोही अनुसार प्रक्रिया अगाडी बढाइएको हो । काठमाण्डौको नयाँ बानेश्वरकै शैलीको पुल अपाङ्ग नागरिकले प्रयोग गर्न नसक्ने गरी निर्माण हुन लागेको छ ।

उता विश्व बैङ्कको सहयोगमा इटहरीको जुट विकास चोक देखी बरगाछी सम्म व्यवस्थित सडकको काम सुरु भएको छ । तत्कालीन मेयर द्वारीकलाल चौधरी र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल बिच २०७७ फाल्गुनमा भएको सम्झौता अनुसार सडक निर्माण हुन लागेको हो ।

आशिष आशीर्वाद जेभीले ७३ करोड ८० लाखमा निर्माण गर्न लागेको सडक २०८२ साउनमा सम्पन्न गर्नुपर्ने बताइएको छ । भर्खरै निर्माणको काम सुरु गरेको कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्ने अवस्था नभए पनि साइकल लेन सहितको व्यवस्थित सडक बन्न लागेको हो ।

२, ३ र ४ नम्बर वडालाई समेट्ने गरी बन्न लागेको नयाँ सडकको फरक फरक मापदण्ड तय गरिएको छ । २ नम्बरमा ३२ फिट, ३ मा ६० र ४ नम्बर वडामा ५० फिट चौडाइको साइकल लेन सहितको सडक बन्न लागेको हो । जसले इटहरीको ग्रामीण कनेन्टीभिटिलाई सहज बनाउने विश्वास लिइएको छ । ८ किलोमिटर ४ सय मिटर सडक निर्माणपछि इटहरीको प्रमुख पर्यटकीय गन्तव्य तालतलैयाको प्रचार र विकास बढ्ने बताइएको छ ।

itahari development 123