विराटनगर : कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्ष्यीत गरेर विराटनगर एयरपोर्टलाई निजी क्षेत्रको सहकार्यमा भारत एवं बङ्गलादेशको विभिन्न शहरमा उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रयास भइरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

त्यसअघि प्रदेशका हिमाली र पहाडी जिल्लामा बनेका ११ वटा विमानस्थलमा सम्भावना अनुसार तत्काल उठान सुचारु गर्न निजी क्षेत्र सँग कुराकानी चलिरहेको उनले बताए । प्रदेश भ्रमण वर्ष सफल बनाउन हिमाली र पहाडी जिल्लाको भ्रमण सहज बनाउन जरुरी भएको उनको भनाई छ ।

दोस्रो आवधिक योजना निर्माणमा परामर्श सहयोग पुर्‍याएका प्राध्यापकहरूलाई प्रमाणपत्र प्रदान गर्न आज बिहीबार बिहान आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘२०८२ साललाई कोशी भ्रमण वर्ष बनाउने तयारी थालिएको छ, त्यस अघि नै केही स्थानमा हवाई उडान सुरु सरकारले सुरु गरेको छ ।’

सहज रूपमा कोशी प्रदेशमा घुम्न आउने पर्यटकको सङ्ख्या भारत र बङ्गलादेश समेतमा ५ करोड बढी रहेको उनले बताए । उनीहरूलाई आकर्षित गर्न प्रदेश सरकारले हवाई मार्ग सहज बनाउने प्रयास सुरु गरिएको हो ।

मुख्यमन्त्री कार्कीले भने ‘भारतबाट धार्मिक पर्यटक कोशी प्रदेशमा ल्याउन सकिने प्रशस्त सम्भावना छ, त्यसलाई हेरेर आवश्यक योजना बनाउन लागेका छौँ ।’

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाए बङ्गलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रवर्द्धन गर्न सहयोग पुग्ने देखिएको उनले बताए । मुख्यमन्त्रीले भने ‘यसका लागि निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको छ, उनीहरूलाई लागत साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताएका छौँ ।’

यसअघि कोशी प्रदेशमा बनेका ११ वटा विमानस्थल मध्ये एक दुईमा मात्रै उडान भइरहेकोले विराटनगरबाट पहाडी र हिमाली जिल्लाको भ्रमण सहज बनाउन सम्भावना हेरेर उडान सुरु गर्न निजी क्षेत्र क्षेत्रलाई आग्रह गरिएको मुख्यमन्त्रीले बताए ।

उनले कोशी प्रदेश सरकारले आइटी र कृषि क्षेत्रलाई पनि उत्तिकै महत्त्व दिएको बताउँदै दुवै क्षेत्रमा निर्यात बढाउने सम्भावना रहेकाले सरकार निर्यात बढाउने योजना बनाएर अघि बढेको बताए । उनले भने ‘पर्यटन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, अहिलेको आवश्यकता नै यही हो ।’