इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एमाले नगर अध्यक्ष रुपेश बस्नेतले कर्मचारी भर्ना गर्दा भागबन्डा खोज्ने गरेको बताएका छन्।

एमाले इटहरी नगर अधिवेशन हुनु भन्दा अगाडी बस्नेतले सचिवको हैसियतमा कर्मचारी भर्ना देखी अनेकौँ विषयमा भागबन्डा माग्ने गरेको खुलासा गरेका हुन् ।

बस्नेतले कर्मचारी राख्न बार्गेनिङ गरेको भिडियो प्रमाण समेत रहेको उल्लेख गर्दै उनले बाहिर आन्दोलन गर्ने र भित्र काम गर्न असहयोग गर्ने गरेको बताए ।

नेकपा एमालेलाई संसदीय मर्यादा बमोजिम र राजनीतिक संस्कारका आधारमा संवादमा आउन आग्रह गरेका छन् । बजेट कार्यान्वयन गर्न एमालेले असहयोग गरेको र बाहिर गलत प्रचारबाजी गर्ने गरेको मेयर पौडेलले आरोप लगाए ।

शृङ्खलाबद्ध हिसाबमा अनियमितताको आरोप लागिरहेको बेला मेयर पौडेलले प्रतिक्रिया स्वरूप एमालेको कारण इटहरीको विकास र समृद्धिमा बाधा पुगेको बताएका हुन् ।

शनिवार बिहान भिडियो सन्देश जारी गर्दै उनले केही दिन अगाडी ५ दलले बुझाएको ज्ञापन पत्रको विषयमा ध्यानाकर्षण भएको बताए । उपभोक्ता समितिको भुक्तानीको विषयमा भ्रम छरिएको बताउँदै उनले भुक्तानी प्रक्रियामा अगाडी बढेको जानकारी दिएका छन् । उपमहानगरपालिका सँग पर्याप्त पैसा भएको प्रष्ट पार्दै पौडेलले नगरवासीलाई विचलित नहुन आग्रह गरेका छन् ।

नेकपा एमाले लगायत दलहरूले शनिवार दिउँसो इटहरी उपमहानगरपालिकाको गेट अगाडी विरोध प्रदर्शन र पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेका छन् । इटहरी उपमहानगरपालिकाले खरिद गरेको नगर बसमा भ्रष्टाचार भएको र उपभोक्ता समितिले भुक्तानी नपाएको विषयमा एमालेले आन्दोलन गर्ने भएको हो ।

यस अघि रास्वपा सांसद अशोक कुमार चौधरीले प्रतिनिधिसभा समेत नगर बसमा भएको अनियमितताको विषयमा प्रश्न उठाएका थिए । त्यस लगत्तै कोसी प्रदेशसभा सदस्य मिना श्रेष्ठले समेत सोही भाषामा सवाल उठाएकी थिइन् ।

जवाफमा मेयर पौडेलले धेरै बकबक नगरी भ्रष्टाचार प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । सांसद जस्तो कानुन निर्माणको तहमा पुगेका व्यक्तिलाई सार्वजनिक खरिद ऐनको विषयमा जानकारी हुनुपर्ने बताउँदै उनले छानबिन समिति गठन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएर प्रमाणित गर्न चेतावनी दिए ।

स्टन्ट र लोक रिझ्याइको लागि रास्वपा सांसदले अभिव्यक्ति दिएको उनको भनाइ छ । नगरवासी र नगरपालिकाको विषयमा विशेष अदालत र अख्तियार जस्तो गरी दोषी करार गरेको मेयर पौडेलले बताए । सांसद भएर बकबक नगर्न चेतावनी दिँदै उनले आग्रह र पूर्वाग्रहका आधारमा टिप्पणी नगर्ने चुनौती दिए ।