इटहरी : इटहरी उपमहानगरपालिकाको गेटमा खटिएका नगर प्रहरीलाई तलबको विषयमा कुरा गर्दा मौन बसे । बिस्तारै कुराकानी गरेर विश्वास दिलाएपछि लामो समय देखि तलब नपाएको कारण परिवार चलाउनै गाह्रो भएको बताए ।

नास्ता पसल देखि किराना पसल सम्म बाँकी धेरै भएको बताएका उनले तलब नआए दशैँ मनाउन नै गाह्रो पर्ने दुःख व्यक्त गरे । छिमेकमा पत्याउने जति ऋण लिइसकेको र तलब नआएर समस्या बढ्दै गएको उनको भनाइ छ ।

समस्या नगर प्रहरीको मात्र छैन । इटहरी अस्पतालमा कार्यरत एक कर्मचारीले नाम उल्लेख गर्दा जागिर नै जाने बताउँदै चार महिना देखि तलब भुक्तानी नभएको जानकारी दिए । गत वैशाखमा तलब पाए पनि त्यसयता कहिले मोबाइलमा म्यासेज आउँछ भनेर पखाइमा रहेको उनले बताए । के कारण तलब नआएको भन्नेबारे यकिन कुरा थाहा नपाएको उनको भनाइ छ ।

इटहरी उपमहानगरपालिका गेट अगाडी केही दिन देखि निरन्तर उपभोक्ता समितिले धर्ना दिइरहेका छन् । बिहीबार उपभोक्ता समितिका प्रतिनिधिलाई सम्बोधन गर्दै मेयर हेमकर्ण पौडेलले दशैँ अगाडी सम्पूर्ण भुक्तानी हुने आश्वासन दिए । केही प्राविधिक समस्या देखिएको कारण समयमा भुक्तानी हुन नसकेकोमा आफू क्षमाप्रार्थी रहेको बताए ।

इटहरी उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख सञ्जीव खड्काले कार्यपालिका भित्रको लफडाको कारण आफूहरूले तलब नपाएको बताए । राजनीतिक मनमुटाबको मूल्य साढे ५ सय कर्मचारीले चुकाउनु परेको उनको भनाइ छ । बजेटको विषयमा टुङ्गो लाग्न नसक्दा नियमित कार्यसम्पादनमा समेत समस्या भएको उनले सुनाए ।

उपमहानगरपालिकाका अधिकारीले दिएको जानकारीका आधारमा १६ वटा विषयगत समितिको छलफल सकिएको र वडाबाट आउने वडा स्तरीय योजनाको सिलिङ समेत ड्राफ्ट भइसकेको छ । विषयगत छलफलको समय लम्बिएको र वडाको योजना आउन समय लागेको कारण रातो किताब छ्यापाइमा ढिला भएको बताइएको छ । भदौ ३० गते आइतबार कोलेनिकामा प्रमाणित बजेट पठाउने र त्यसपछि रातो किताब छापेर भुक्तानी सुरु गर्ने उपमहानगरको तयारी छ ।

उता वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीले अहिलेसम्म कुनै पनि समस्या नभएको बताए । उपमेयर सङ्गीता चौधरीले मेयरले प्रमाणित गरेर बजेट कार्यान्वयन गर्नुपर्ने तर किन ढिला भएको आफैले नबुझेको बताइन् । बजेट अगाडी गर्नुपर्ने विषयगत समितिको छलफल अहिले भएको उनको भनाइ छ ।