धरान : धरान-१७ का ४५ वर्षीय सुक्षिम राई र धरान-११ का ४६ वर्षीय देवराज राईलाई स्कारपियो गाडीमा गाँजा सहित सोमवार राती विराटनगरमा प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले विराटनगर-१७ मण्डा पोखरीमा को २ च ७५९ नम्बरको स्कारपियो गाडी सहित उनीहरूलाई पक्राउ गरेको हो ।

राती ८ बजेको समयमा शङ्कास्पद गाडी देखिएपछि चेकजाँच गर्दा गाडीको पछाडिको भागमा लुकाई छिपाई राखेको १४६ किलो ग्राम गाँजा बरामद गरेको छ । उक्त गाडी सुक्षिम राईले हाँकिरहेका थिए भने देवराज राई गाडीमा साथै थिए ।

यसअघि विराटनगर-१५ बाट सोमवार बिहान १० बजे सोही वडाका ३२ वर्षीय गणेश चौधरी र विराटनगर-१३ का २२ वर्षीय रोजेश परियारलाई बा ८ च ७८८० नम्बरको कारमा गाँजा सहित पक्राउ गरेको थियो ।

शङ्कास्पद अवस्थामा कार चेकजाँच गर्दा कारको सिटमुनी लुकाई राखेको ४३ किलो ग्राम गाँजा बरामद भएको थियो । कार गणेश चौधरीले चलाएका थिए राजेश कारमा सँगै थिए ।