वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा सामाजिक र मानवीय सेवामा सक्रिय रहेको संस्था लायन्स क्लब अफ सप्तकोशी डायनामिकले चक्रघट्टी बजारको सौन्दर्यीकरण तथा बजारको सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले सडक पेटीमा डस्टबिन तथा फूलको गमला राखेको छ ।
संविधान दिवसको अवसर पारेर सडक पेटीमा डस्टबिन तथा फूलको गमला राखिएको कार्यक्रमका व्यवस्थापक क्लबका सदस्य रितेश जैसवालले बताए ।
सडकमा डस्बिनहरु फुटेका, हराएका र प्रयोग गर्न नसकिने अवस्थाका भएकाले फोहोर व्यवस्थापनमा असहजता भएको महसुस गरी क्लबको तर्फबाट फलामको स्टेन सहितको डस्टबिन राखेको उनले बताए ।
पहिलो चरणमा चक्रघट्टी बजारको मुख्य बजार मुनाल चोकदेखि बुधबारे चोक जाने बाटोमा डस्टबिन तथा फलामको गमला राख्ने स्टेन सहितको फूलको गमला राखिएको क्लबका अध्यक्ष सुजित कुमार रायले बताए ।
बजारको फोहोरको व्यवस्थापनमा केही सहयोग होस् भनेर डस्बिन तथा बजारको सौन्दर्यीकरणका लागि गमला र फूल राख्ने कार्य गरेका हौँ अध्यक्ष रायले बताए ।
लायन्स क्लब विशेषतः मानवीय सेवाका क्षेत्रमा काम गर्ने भए पनि सामाजिक संस्था भएका हिसाबले सामाजिक रूपान्तरणमा केही सहयोग गरौँ भनेर डस्टबिन तथा फुलको गमला राखिएको र आगामी दिनमा निरन्तर बजार क्षेत्रको सरसफाइ र सौन्दर्यीकरणका लागि हामी लागिरहने क्लबका पूर्व अध्यक्ष तथा लायन्स क्लबका जोन चेयर पर्सन विक्रम कर्णले बताए ।
क्लबले विगतका दिनहरूदेखि निरन्तर स्वास्थ्य शिविर, खाद्यान्न वितरण कार्यक्रम, विद्यालयहरूमा कपी, स्टेशनरी सामान तथा पङ्खा वितरण, न्यानो कपडा वितरण, बिरामी तथा निःसहायहरूलाई आर्थिक सहयोग लगायतका मानवीय सेवाका कार्यहरू गर्दै अध्यक्ष सन्तोष चौलागाईंले बताए ।