धरान : तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाडौँ र दार्जिलिङ युनाइटेड फेलोसिप, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गान्तोक र डिआर एफसी धरान र महिला तर्फ एना समूह धरान र एक्ट नेपाल इटहरी फाइनमा भिड्ने भएका छन् ।

सञ्जीवनी केन्द्र धरानको आयोजनामा बिहीबार देखि सुरु भएको प्रतियोगितामा शुक्रवार सम्पन्न ओपन रिकभरिङ्ग तर्फ पहिलो सेमिफाइनल खेलमा फस्ट स्टेप काठमाण्डौले चितवन फेलोसिपलाई ३-० र दार्जिलिङ युनाइटेडले डिआर एफसी धरानलाई ट्राईवेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

दार्जिलिङ युनाइटेड र डिआर एफसीले निर्धारित समय सम्म बराबर ३-३ गोल गरेपछि खेल ट्राईवेकरमा धकेलिएको थियो ।

रिकभरिङ्ग भेट्रान तर्फ ग्रेस फाउण्डेसन गान्तोकले रिकभरिङ्ग ब्रर्दश सिक्किमलाई १-० र डिआर एफसी धरानले आश्रय काठमाण्डौलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको फाइनल खेल भोली शनिवार बिहान १० बजे देखि सुरु हुनेछ । प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ १४ टिम, भेट्रान रिकभरिङ्ग तर्फ ७ टिम र महिला रिकभरिङ्ग तर्फ ३ टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा ओपन रिकभरिङ तर्फका विजेताले नगद २ लाख, दोस्रो पुरस्कार नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । भेट्रान तर्फका विजेताले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिला तर्फका विजेताले नगद २० हजार र दोस्रोले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका व्यक्तिगत

पुरस्कार तर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

शुक्रवार भएको भेट्रान रिकभरिङ्ग तर्फको तेस्रो उपाधिको लागि भएको खेलमा आश्रय काठमाण्डौले सिक्किम ब्रर्दश रिकभरिङ्गलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेस्रो उपाधि चुमेको छ । उपाधि सँगै आश्रयले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तेस्रो उपाधि विजेताहरूलाई शनिवार हुने फाइनल खेल पछि पुरस्कार प्रदान गरिने आयोजक सञ्जीवनी केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्रकारले जानकारी गराए ।