धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी जवान टिकाराज खापुङ्गलाई भदौ महिनाको प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

प्रहरी जवान कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहमा कार्यरत छन् । उनले भदौ ६ गते धरान-१३ मा धनकुटाबाट आउँदै गरेको ट्रकमा ४४ वटा बोरामा रहेको १ हजार ४२० केजी गाँजा सहित २ जनालाई पक्राउ गरेका थिए ।

यसैगरी इटहरी-१ बाट २४३ किलो ५०० ग्राम तयारी गाँजा बोकेको कार सहित चालकलाई नियन्त्रणमा लिएका थिए ।

धरान-१३ निसानेबाट भदौ १७ गते ४ वटा बोरामा ९८ केजी गाँजा बोकेको कार नियन्त्रणमा लिएका थिए ।

मोरङको ग्रामथान-४ बाट भदौ २९ गते जुवा खेलिरहेका ९ जनाको समूह सहित जुवाको खालबाट १६ थान कौडा, १८ लाख ४९ हजार ५०० रुपैयाँ बरामद गरेका थिए ।

सूक्ष्म रूपमा सूचना सङ्कलन तथा निगरानी गरी अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा प्रहरी जवान खापुङ्गको कार्य उत्कृष्ट र उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालयले भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरेको जनाएको छ ।