इटहरी : इटहरी उपमहानगरपालिकाको नगर प्रहरीले विद्युतीय रिक्सा (सिटी सफारी) नियमन र नियन्त्रणको लागि लामो समयदेखि विवादित काम गर्दै आएको छ । सफारी चालकलाई ट्वाइलेटमा लगेर कुट्ने देखि नियम विपरीत पालिका प्रवेशमा रोक गर्ने सम्मका गतिविधि नगर प्रहरीबाट भएका छन् ।

आइतबार इटहरीको मुख्य चोक (धरान लाइन) मा गुडिरहेको सफारीको हावा नगर प्रहरीले खोलिदियो । राजमार्गको ट्राफिक व्यवस्थापन र सुरक्षाको जिम्मेवारी पाएको ट्राफिक प्रहरी बेखबर रहेको सो घटनामा नगर प्रहरीले सफारी चालकलाई पक्राउ नै गर्‍यो ।

पक्राउ गरेर उपमहानगरपालिका पुर्‍याएपछि लामो समय केरकार गरेर चालक छाडिए । भर्खरै खरिद गरेको नयाँ सफारी चलाइरहेका उनलाई लामो समय मुक्कामुक्की भएपछि नगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वानवेमा सफारी रोकेको र सम्झाउँदा नमानेको भन्दै नगर प्रहरीको टोली चालक माथि जाइलागेको थियो । प्रहरीको निर्देशन अनुसार सफारी नकुदाएपछी नगर प्रहरीले तिन पाङ्ग्रे सफारीको सबै चक्काको हावा खोलिएको छ ।

नगरको शान्ति सुरक्षाको लागि भर्ना गरिएको नगर प्रहरीले आफ्नो क्षेत्राधिकार मिचेको छ । नगरका भित्री बजार र पार्किङ अस्तव्यस्त हुँदा प्रभावकारी नदेखिएको प्रहरीले मुख्य राजमार्गलाई ध्यान दिएको छ । जुन कानुनतः ट्राफिक प्रहरीको दायित्व र अधिकारको क्षेत्र हो । 

यसअघि प्रदेशको कानुन विपरीत सुन्दरहरैचा नगरपालिकाका सफारीलाई इटहरी प्रवेशमा रोक लगाएको थियो । जुन पछि उच्च अदालतको आदेश पछि रोकिएको थियो । 

नगर प्रहरीको कदम प्रति ध्यानाकर्षण भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । भर्खरै प्रदेश प्रमुखको रूपमा कार्यभार सम्हालेका प्रहरी उपरीक्षक विनोद घिमिरेले आपसी संवाद र सहकार्य मार्फत अगाडि बढ्ने बताए । नगर प्रहरीका गतिविधि बारे जानकारी भएको बताउँदै उनले नगर प्रमुख सँग छलफल गर्ने जानकारी दिए ।