झापा : कमल गाउँपालिकाको केर्खामा दुर्घटना भएपछि हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिब १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसँग ४ बुँदे सहमति भएपछि अहिले बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो ।

गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल गाउँपालिका-३ स्थित केर्खा बजारमा रहेको वडा नं.३ का वडाध्यक्ष अग्नि कोइरालाको घरमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोहवरमा वडाध्यक्ष कोइराला, पीडित पक्ष, नागरिक समाज र प्रहरी प्रशासनलगायत करिब २० जनाको उपस्थितिमा सर्वपक्षीय बैठकबाट ४ बुँदे लिखित सहमति गरिएको हो ।

पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिलाउनका प्रयत्न गर्ने, जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कारबाही लागि माग गर्ने, त्रिपक्षीय सहमतिलाई कार्यान्वयन गर्ने र कानुनी प्रक्रिया पुरा गर्नका लागि भइरहेको अवरोध हटाई अगाडि बढ्ने सहमति भएको हो ।

उक्त सहमति गरेपश्चात् आज बिहान ३ः५० बजेदेखि प्रहरीले आवश्यक कानुनी प्रक्रिया र मुचुल्काको कार्य सुरु गरेको थियो । प्रहरीले बिहान ५ बजे मृतकहरूको शव मे १ च १३३३ नम्बरको एम्बुलेन्समा राखी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ।

सहमति भएपछि बिहान ५ः०५ बजेदेखि पूर्वपश्चिम राजमार्ग सुचारु भएको र हालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४३३१ नं को रात्रि बसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही दिशातर्फ जाँदै गरेको इलेक्ट्रिक साइकललाई हिजो साँझ ५.३० बजे रात्रि बसले ठक्कर दिएको थियो । दुर्घटनामा मनोज इजमकी अन्दाजी ९ वर्षकी छोरी कृपा इजम र उनका बुवा ६० वर्षीय टेकबहादुर इजमको मृत्यु भएको हो ।

ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको थियो ।

आक्रोशितहरूले प्रहरी चौकी केर्खामा ढुङ्गामुढा गरेका थिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका यातायातका साधन शिवसताक्षी स्थित कमल खोलाको पुलमा रोकिएका थिए भने पूर्वतर्फ आउने यातायातका साधन सीतापुरीमा रोकिएका थिए ।

जसका कारण गन्तव्यमा पुग्ने यात्रु बिच बाटोमै अलपत्र परेका थिए । केर्खा बजारमा रहेको प्रहरी बिट आगजनी गरेर ध्वस्त बनाइदिएका छन् । आगलागी नियन्त्रणका लागि तयारी अवस्थामा रहेको दमकल ३०० मिटर नजिकको प्रहरी बिटमा लगाइएको आगो निभाउन आउन सकेन ।

प्रहरी चौकीको गेट बाहिरैबाट ढुङ्गामुढा प्रहार गर्दा बसमा क्षति भएको छ भने प्रहरी चौकीको झ्यालमा समेत क्षति भएको छ । यस्तै प्रहरीलाई ढुङ्गा हान्ने क्रममा प्रहरी चौकी अगाडि पार्किङ गरिएको दमकलको सिसा फुटेको छ ।

भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले केर्खामा दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको थियो । जनपद प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्याँस फायर गरेको थियो ।

आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ५ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको डिएसपी चन्दले बताए । आक्रोशित स्थानीयले केर्खामा रहेको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेका छन् ।

त्यस्तै स्थानीयले ढुङ्गामुढा गर्दा घटनास्थलनजिकै रहेको मे १ ख २७४४ नं. को न्यु सूर्योदय यातायात यात्रुवाहक बसको अगाडीको सिसा चर्किएको छ । त्यस्तै बायाँ साइडको ४/५ वटा झ्यालको सिसा फुटेको छ । 

साथै प्रहरीले बल प्रयोग गरी तितरबितर बनाउने क्रममा आन्दोलनकारीहरूले घटनास्थलनजिकै रहेको प्रदेश १-०१-००१ ख ४०३७ नम्बरको अर्को बसको बायाँ साइडको पछाडिको २ वटा सिसाहरू तोडफोड गरेका थिए ।

Jhapaa-Accident-2