धरान : इलामका कवि निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह ‘शव्दथुम’ लाई कवि विमल गुरुङ स्मृति पुस्तकालयद्वारा २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा बिहीबार पुस्तकालय समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।
पुस्तकालय अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार विमल कृति पुरस्कारकालागि स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका १०२ पुस्तकहरू दर्ता भएका थिए । ती मध्ये यसअघि १० श्रेष्ठ पुस्तक छनौट गरिएको थियो ।
छनौट भएका १० श्रेष्ठ पुस्तक मध्ये थाम्सुहाङको निबन्ध सङ्ग्रह ‘शव्दथुम’लाई कृति पुरस्कार प्रदान गर्ने सिफारिस निर्णायक समितिबाट प्राप्त भएको अध्यक्ष गुरुङले बताए ।
निर्णायक समितिले थाम्सुहाङको कृतिमा रहेका निबन्ध चिन्तनले समता मूलक समाजको परिकल्पना गर्दै सुन्दर समाज निर्माण गर्ने पक्षमा वकालत गरेको निर्णयमा उल्लेख गरेको छ ।
‘शव्दथुम’ याकथुङ मुन्धुम, हिन्दुको वेद, क्रिश्चियनको बाइबल, मुस्लिमको कुरान र बौद्धको त्रिपिटकले भन्ने गरेको शब्द शक्तिलाई विश्वास गरेको कृति भएको निर्णायक मण्डले ठहर गरेको बताइएको छ ।
याकथुङ लेखक सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका थाम्सुहाङले १७ वर्ष अघि ‘पालमाको मुर्छन्ना’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए ।