इटहरी : मोरङको ग्रामथानमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लज्जास्पद हार भएको छ । सोमबार बिहान सार्वजनिक मत परिणाम अनुसार रास्वपाका उम्मेदवार नवीन कुमार माझीले जम्मा ३७५ मत पाएका छन् ।

रास्वपाको भन्दा केही बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दिनेश थन्दारले ५५५ मत पाएका छन् । २०८४ मा सबैभन्दा ठुलो दल बन्ने उद्घोष गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ग्रामथानको उपनिर्वाचनले झस्काएको छ ।

मिसन ८४ अभियान चलाएका राप्रपा र रास्वपाको लज्जास्पद हार मात्र भएन जमानत नै जफत भयो ।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६३ अनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी (जमानत) जफत हुने हुने प्रावधान छ ।

रास्वपाका नवीन कुमार खवासले ३७५ मत र राप्रपाले ५५५ मत पाए । जुन सदर मतको १० प्रतिशत हुँदैन । १८ हजार २०७ सदर मतको १० प्रतिशत  १८२१ हुन्छ ।

जुन राप्रपा र रास्वपाको जोड्दा समेत पुग्दैन । दुई दलले मात्र हैन अन्य १० दल र एक स्वतन्त्रको पनि जमानत जफत भएको छ ।