धरान : याक्थुङ/लिम्बु भाषा, संस्कृति र सामाजिक कथामा बनेका चलचित्रहरू मध्ये सर्वोत्कृष्ट कथानक चलचित्र ‘चे’, सर्वोत्कृष्ट लघु चलचित्र ‘खोक्पा’ लाई २०८१ सालको ‘याक्थुङ सिने अवार्ड’ प्रदान गरिएको छ ।

धरानमा पहिलो पटक याक्थुङ चलचित्रकर्मी सङ्घद्वारा आयोजित ‘याक्थुङ सिने अवार्ड’ समारोहमा २०८० सालमा निर्माण भएका लिम्बु कथा र लिम्बु चलचित्रकर्मीद्वारा निर्मित कथानक र लघु चलचित्रको श्रेणीमा ‘चे’ र ‘खोक्पा’ सर्वोत्कृष्ट घोषित भएको हो ।

अवार्डका लागि याक्थुङ/लिम्बु कथामा बनेका ११ चलचित्र मनोनयनमा परेका थिए । अवार्डको जुरीमा लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाबिज्ञ कलाकार याशेली योङ्हाङ, याक्थुङ चलचित्रकर्मी सङ्घका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बो थिए ।

जुरीको निर्णयमा विभिन्न विधामा अवार्ड अवार्ड प्रदान गरिएको हो । चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा अवार्ड प्रदान गरिएको छ ।

अवार्डका लागि चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधा निर्धारण गरिएको थियो ।

लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिएको छ ।

समारोहमा घोषित चलचित्र तर्फ उत्कृष्ट निर्देशकको अवार्ड ‘युक्पुङ’का निर्देशक दिनेश मुङमालाई प्रदान गरिएको छ । उत्कृष्ट नायकको अवार्ड ‘माङगेन्ना’का नायक किशोर सम्बाहाङलाई प्रदान गराएको छ । उत्कृष्ट नायिकाको अवार्ड ‘चे’ कि नायिका  विमला खजुमलाई प्रदान गरियो ।

नव नायिकाको अवार्ड ‘लोजिमा’की नायिका  निसाम तुम्बापो ले प्राप्त गरिन् । चरित्र अभिनेताको अवार्ड ‘हाङनाद’ सिडी बेघालाई प्रदान गरियो । चरित्र अभिनेत्रीको अवार्ड ‘सुगुप’ की डम्बर कुमारी पयाङ्बोलाई प्रदान गरियो ।समारोहमा वरिष्ठ कलाकार÷निर्देशक प्रेम सुब्बालाई सोदुङ्ना लेम्मुहाङ अवार्ड प्रदान गरिएको छ ।

तिगेन्जङना अवार्डबाट मिना हुक्पा चोङवाङ सम्मानित भइन् । पब्लिक च्वाइस अवार्ड कथानक चलचित्र ‘सुगुप’ले जितेको छ भने लघु चलचित्र ‘खोक्पा’ले पब्लिक च्वाइस अवार्ड पनि जितेको छ ।

लघु चलचित्र तर्फ उत्कृष्ट निर्देशक अवार्ड ‘खाक्पा’ का प्रकाश लिम्बुलाई प्रदान गरिएको छ । उत्कृष्ट नायकको अवार्ड ‘इछिङ’ नायक तिरज लिम्बुले प्राप्त गरेका छन् । उत्कृष्ट नायिकाको अवार्ड ‘इछिङ’की नायिका विमला थोक्लिहाङले प्राप्त गरेकी छन् । उत्कृष्ट अभिनेताको अवार्ड ‘इछिङ’का कर्ण सम्बाहाङफे र उत्कृष्ट अभिनेत्रीको अवार्ड मिना हुक्पाचोङले प्राप्त गरेकी छन् ।

बिपी प्रतिष्ठानको अडिटोरियम हलमा मङ्गलवार  अबेर रात सम्म चलेको समारोह लालिगुरास नगरपालिका तेह्रथुमका मेयर अर्जुन मावोहाङको प्रमुख आतिथ्यमा भएको थियो ।

उनले याक्थुङ/ लिम्बु चलचित्रहरू सङ्ख्यात्मक रूपमा धेरै बने पनि याक्थुङ/लिम्बु समाजका सांस्कृतिक परवेशमा भएका कथाहरूलाई आधुनिक सन्दर्भमा प्रयोग गर्न नसकेको बताए ।

दक्षिण भारतीय भाषामा बन्ने चलचित्रहरूले हिन्दी सिनेमालाई पछि पारेको उदाहरण दिदैं भने ‘याक्थु/लिम्बु समाजमा पनि अन्याय विरुद्ध भएको न्यायको लडाई, युद्धका धेरै कथाहरू छन्, जसबाट सबै खाले दर्शक आकर्षित गर्न सकिन्छ ।’

कार्यक्रममा धरानका उपमेयर अइन्द्र विक्रम बेघा, म्याङ्लुङ नगरपालिकाका मेयर, धरान-१५ का वडाध्यक्ष नरेशकुमार इङवार, वरिष्ठ पत्रकार हर्ष सुब्बा, पूर्व मिस नेपाल माल्भिका सुब्बाले धरानलाई चलचित्र निर्माणको हब बन्ने सम्भावनाको बारेमा चर्चा गरे ।

समारोह याक्थुङ चलचित्रकर्मी सङ्घका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बोको सभापतित्वमा भएको थियो ।

yakthum-award