झापा : राष्ट्रिय गौरवको आयोजनाको रूपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको 'भ्यू टावर'को उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

हस्तान्तरणको प्रक्रियामा रहेको भ्यू टावरको यही जेठ १० गते ११ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको भ्यू टावरको हस्तान्तरणको प्रक्रिया थालिएको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलले जानकारी दिए । भ्यू टावर निर्माण सम्पन्न भएसँगै सरसफाइको काम भइरहेको बताइएको छ।

व्यापारिक केन्द्र सहितको भ्यू टावरले पूर्वी नेपालको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको टावर नेपालकै नमुना र फरक डिजाइनमा तयार भएको छ । नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यू टावर १ सय मिटर अग्लो रहेको छ ।

दमक नगरपालिका-३ स्थित दापगाछीमा २०७६ साल असार २७ गते बाट निर्माण सुरु गरिएको भ्यू टावरको ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो ।

चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए । कोभिड-१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण कार्य अवधि थपिएको थियो ।

दमक बजारबाट झण्डै तीन किलोमिटर पश्चिम उत्तरमा निर्माण गरिएको भ्यू टावर राष्ट्रिय गौरवको आयोजनाको रूपमा हेरिएको छ भने लगानीको दृष्टिकोणले नेपालको दोस्रो ठुलो टावर हो ।