धरान : राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको २१औ वार्षिक साधारण सभा इकाईगत रूपमा सातै प्रदेशमा सम्पन्न भएको छ ।
शनिवार विराटनगरको होटेल मनास्लु इनमा कोशी प्रदेश इकाई-१ को वार्षिक साधारण सभा इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठगीकी आरोपी विष्णुमाया उर्फ अमृता सुब्बाको अध्यक्षतामा सम्पन्न हो ।
अम्बे कोसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २१ लाख ५५ हजार ऋण लिई नतिरेको कारण जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी बनाई जिल्ला अदालत सुनसरीबाट ५ लाख धरौटीमा रिहा भएकी सुब्बालाई पछि उच्च अदालत विराटनगरले थप ५ लाख धरौटी माग गरेको थियो ।
सहकारी संस्थाहरूको बैङ्कका रूपमा रहेको राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीलाई भने नेपाल राष्ट्र बैङ्कले सहकारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेको कारण पदमुक्त गरी महेन्द्र कुमार गिरीलाई अध्यक्ष निर्वाचित गर्न बैङ्कको सञ्चालक समितिलाई निर्देशन दिएको छ ।
२१ औँ साधारण सभाबाट बैङ्कको अध्यक्ष बन्न योग्यता पुगेका वर्तमान सञ्चालक सदस्य मध्ये महेन्द्र कुमार गिरी सञ्चालक समितिको अध्यक्ष बन्ने छन् ।
सहकारी अभियान नै सङ्कटग्रस्त रूपमा अघि बढिरहेको बेला ऐनमा भएको प्रावधान विपरीत एकै प्रकृतिको एकै पालिकामा भएको अम्बे कोसी बचत तथा ऋण सहकारीबाट ऋण लिई नतिरेको अभियोगमा सहकारी ठगी सम्बन्धी मुद्दा खेपिरहेकी अमृता सुब्बालाई नै बैङ्कले कोसी प्रदेशमा भएको इकाई-१ को वार्षिक साधारण सभाको अध्यक्षता गराएको हो ।
राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका वरिष्ठ उपाध्यक्ष तथा बैङ्कका निवर्तमान अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यमा भएको साधारण सभा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य, नेफस्कुनका सञ्चालक सदस्य तथा कोसी प्रदेशका विभिन्न जिल्ला स्थित सहकारी सङ्घ , विषयगत सङ्घका अध्यक्ष, तथा कोसी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार हरिबहादुर खत्री समेतको आतिथ्यमा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभामा सुब्बाले सञ्चालक समितिको तर्फबाट संक्षिप्त कार्य योजना प्रस्तुत गरेकी थिइन । सहकारी कसुरमा मुद्दा खेपिरहेकी सुब्बा राष्ट्रिय सहकारी बैङ्कमा इटहरी स्थित महिला बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधि बन्दै सञ्चालक सदस्य चयन भएकी हुन सहकारी कसुरमा मुद्दा खेपिरहेकी उनी राष्ट्रिय सहकारी बैङ्कको सञ्चालक सदस्यमा भने अविछिन्न कामकाज गर्दै आइरहेकी छन् ।
नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी सुब्बा पटक पटक सहकारी अभियानमा लाभको पदमा पुगेकी व्यक्ती हुन । उनी नेफस्कुनको पदाधिकारी तथा राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक सदस्य समेत भइसकेकी व्यक्ती हुन।