धरान : सदा झैँ धरान उपमहानगरपालिकाले यसपालि पनि धरान उत्सव आयोजना गर्ने तयारी गरेको छ । धरान स्थापनाको वार्षिकोत्सवको रूपमा उपमहानगरपालिकाले धरान उत्सव आयोजना गर्दै आएको छ ।
धरानमा मानव बसोबास सुरु भएको १२४ वर्ष पुगेकोमा धरान उत्सव मनाउन लागिएको धरान उपमहानगरपालिकाले जनाएको छ । धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा भएको थियो ।
धरान उत्सव पुष २० देखि २४ गते सम्म ५ दिन मनाइने भएको हो ।
उपमहानगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गर्दै धरान उत्सव धरान-१६ स्थित रङ्गशाला दक्षिण खाली मैदानमा हुने भएको जानकारी दिएको छ । उपमहानगरपालिकाले 'धरान डे' विशेष दिनको रूपमा पुस २० गते स्थानीय बिदा दिइने भएको छ ।
धरान उत्सव आयोजना गर्न मेयर हर्क साम्पाङको संयोजकत्वमा उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मूल समारोह समिति र विभिन्न उपसमितिहरू पनि गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिए ।धरान उत्सव ५ दिनसम्म सांस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक, साहित्यिक, साङ्गीतिक कार्यक्रमहरू सहित मनाइने प्रचार संयोजक कार्यपालिका सदस्य दिनेश गजमेरले जानकारी दिए । उत्सव स्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री स्टलहरू राखिने भएको छ ।
पुष २४ गतेसम्म हुने धरान उत्सव अवधिभर प्रवेश निःशुल्क रहने उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए । उनले धरान उत्सवमा स्थानीय, घरेलु उत्पादनहरूको प्रदर्शनी तथा बिक्रीलाई प्राथमिकता दिइने बताए ।
पुष २० गते धरान उत्सव उद्घाटन गरिने छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिने छ ।
पुष २१ गते बिहान ८ बजेदेखि साइक्लिङ, दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र साहित्यिक कार्यक्रम, पुष २२ गते पनि इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ का गायकको प्रस्तुति र लोक जुहारी कार्यक्रम, पुष २३ गते बिहान वाकाथुन, दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १, रस्सि तान र छेलो हान्ने प्रतियोगिता हुनेछ ।
अन्तिम दिन पुष २४ गते दिउँसो सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन गरिने छ । प्रत्येक दिन साँझ ५ देखि राती १० बजेसम्म साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने मूल समारोह समितिले जनाएको छ ।