इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नेकपा एमालेका जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भएको छ ।
मेयर पौडेलको कार्यकक्षमा ताला लगाउने तयारी गरेको एमाले जनप्रतिनिधि सँगको मौखिक सहमतिमा विवाद समाधान भएको हो ।
तत्काल प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता बिदामा बसेकाले आइतबार लिखित सहमति गर्ने प्रतिबद्धता सहित बिहीबारको वार्ता टुङ्गिएको हो ।
मेयर पौडेलले एकलौटी रूपमा कर्मचारी सरुवा गरेको र प्रशासन प्रमुख सञ्जीव खड्काले अटेर गरेको भन्दै रुष्ट रहेको एमाले सहमतिमा आएको छ।
कर्मचारी सरुवा बदर गर्ने र अधिकृत खड्कालाई माफी माग्न लगाउन मेयर तयार भएपछि सहमति भएको उपमेयर सङ्गीता चौधरीले बताइन् । 
उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको कारण तत्काल कागजी रूपमा सहमति बाहिर ल्याउन नसकिएको हो । पुरानो भुक्तानी दिने र नयाँ योजना सुरु गर्ने विषयमा मेयर सकारात्मक रहेको बताउँदै उनले आइतबारबाट योजना सुरु गर्ने पत्र सम्बन्धित शाखा र वडामा पुग्ने जानकारी दिइन् ।  
प्रशासन प्रमुख खड्का र उपमेयर चौधरी सहित एमाले जनप्रतिनिधि बिचको विवादले उग्र रूप लिएपछि उपमहानगरपालिकामा लफडा भएको हो ।
प्रशासन शाखामा एमालेले लगाएको ताला मेयरको निर्देशनमा फोडिएको भन्दै एमाले मेयर पौडेलप्रति आक्रोशित बनेको हो ।