धरान : बुढासुब्बा गोल्डकप फुटबलको २५औँ संस्करणमा गेटबाट विक्री भएको टिकटबाट कुल ९ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको आयोजक धरान फुटबल क्लबका महासचिव नवीन राईले जानकारी दिएका छन् ।

गोल्डकप यसपालि माघ १९ देखि २६ गते सम्म धरान रङ्गशालामा सञ्चालन भएको थियो । प्रतियोगिताको क्वाटर फाइनलका ४ खेल चल्दा टिकट दर १०० रुपैयाँ कायम गरिएको थियो । सेमिफाइनलका २ खेलहरूमा टिकट दर २०० रुपैयाँ कायम गरियो । फाइनल खेलमा टिकट दर ३०० रुपैयाँ कायम गरिएको थियो ।

महासचिव राईका अनुसार गोल्डकपको फाइनल खेलमा माघ २६ गते मात्रै ४ लाख ७९ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

उनका अनुसार माघ १९ गते पहिलो क्वार्टर फाइनल खेलमा ७१ हजार ५००, माघ २० गते दोस्रो क्वार्टर फाइनलमा १ लाख २ हजार, माघ २१ गते तेस्रो क्वार्टर फाइनलमा ६१ हजार, माघ २२ गते चौथो क्वार्टर फाइनलमा ७४ हजार ३०० सङ्कलन भएको थियो ।

माघ २३ गते पहिलो सेमिफाइनलमा १ लाख १९ हजार, माघ २४ गते दोस्रो सेमिफाइनलमा ५८ हजार ४०० र अन्तिम दिन माघ २६ गते फाइनल खेलमा ४ लाख ७९ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

यसपालि २५ औँ गोल्डकप एनआरटी काठमाडौँले जितेको छ । चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गर्दै एनआरटीले उपाधिमा तेस्रो पटक कब्जा कायम गरेको हो । एनआरटी १० औँ र २४ औँ संस्करणको पनि बुढासुब्बा गोल्डकप विजेता हो ।

महासचिव राईले धरान फुटबल क्लबले यस अघि गरिएको प्रतिबद्धता अनुसार एक महिना भित्र बुढासुब्बा गोल्डकपको सम्पूर्ण आयव्यय सार्वजनिक गर्ने बताए ।