धरान : राष्ट्रिय समाचार समिति (रासस)को ६४औँ वार्षिकोत्सवमा देशभरबाट छानिएका ३ ‘उत्कृष्ट समाचारदाता पुरस्कार’ मध्ये सुनसरीबाट सङ्गीता राई २० हजार रुपैयाँ नगद सहित पुरस्कृत भएकी छिन् ।
आज बुधवार फागुन ७ गते विराटनगरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले २० हजार रुपैयाँ नगद सहित सम्मानपत्र प्रदान गरेका छन् ।

राससमा छोटो समय, सानै उमेरमा देशभरबाट पहिलो पटक पुरस्कृत भएकी सङ्गीता राई स्वर्णिम धरानबाट सुनसरी जिल्ला भरका समाचार सङ्कलन गर्दै आइरहेकी छिन् ।
राससले उनी सहित ललितपुरका माधवप्रसाद घिमिरे र कैलालीका तिलकराज ओझालार्ई उत्कृष्ट समाचारदाता पुरस्कार प्रदान गरेको राससले जनाएको छ ।
उत्कृष्ट आलेख पुरस्कार झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सम्पादक टिकाराम सुनारले प्राप्त गरेका छन् । उनीहरूलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
राससले उत्कृष्ट सम्पादन पुरस्कार अन्तर्राष्ट्रिय समाचार शाखाका दिलीपप्रसाद शर्मा र नेपाली समाचार शाखाका छविलाल माललाई जनही १० हजार नगद सहित प्रदान गरेको छ ।
उत्कृष्ट समाचार सङ्कलन पुरस्कार भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्कालाई प्रदान गरिएको छ ।
उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २० हजार रुपैयाँ सहित फोटो पत्रकार हरिराम भेटवालले प्राप्त गरेका छन् ।