इटहरी : शिक्षक सरुवामा दुई लाख घुस माग्ने पकली माध्यमिक विद्यालयका अध्यक्ष विनोद कुमार झालाई इटहरी उपमहानगरपालिकाले पुनर्बहाली गरेको छ । यसअघि शिक्षा शाखा मार्फत कुनै पनि काम कारबाही अगाडी नबढाउन निर्देशन दिएको उपमहानगरले झालाई जिम्मेवारीमा पठाएको हो ।
झा अध्यक्ष भएसम्म जिम्मेवारीमा नरहने जनाउँदै प्रधानाध्यापक (प्रअ) बाट राजीनामा दिएका यज्ञ ढकाल पनि विद्यालय फर्किएका छन् । यस बिचमा प्रअको जिम्मेवारी सम्हालिरहेका सिताराम घिमिरेलाई भने कुनै जानकारी नदिई ढकाललाई उपमहानगरले सोही स्थानमा पठाएको हो । विद्यालय व्यवस्थापन समितिबाट प्रअ नियुक्त भएका घिमिरे र उपमहानगरले पुनर्बहाली गरेका ढकाल दुवै एउटै जिम्मेवारीमा बहाल भएका छन् ।

काठमाण्डौको महांकाल जाने तयारीमा रहेको शिक्षक टिका खड्का र काठमाण्डौको महांकालमा कार्यरत शिक्षक सिताराम घिमिरेको सरुवाको विषयमा झाले दुई लाख घुस मागेका थिए । घुस मागेको विषय बाहिर आएपछि झाको शैक्षिक योग्यताको प्रमाणपत्र समेत नभएको विषय सार्वजनिक भयो ।
उपमहानगरपालिकाले झालाई असोज १३ गते शैक्षिक योग्यताको प्रमाणपत्र माग गर्दै पत्राचार ग¥यो । असोज १४ गते १७ नम्बर वडा शिक्षा समितिले पुनः कागजात माग गर्यो । झाले बारम्बार अटेर गरेपछि मङ्सिर २१ गते शिक्षा शाखा प्रमुख रमेश कुमार शाहले कुनै पनि कार्य नगर्न नगराउन निर्देशन सहितको पत्र पठाए ।
शिक्षा नियमावली २०५९ को परिच्छेद ६ को नियम २९ अनुसार उच्च माध्यमिक तहको व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि सोही तहको अध्ययन आवश्यक पर्छ । अन्य सदस्यहरू सोही योग्यता नभएको अवस्थामा मात्र तल्लो तहको अध्ययन भए पनि मान्य हुने नियमावलीमा उल्लेख छ । तर अन्य सदस्यहरूको योग्यता हुँदाहुँदै पनि झा अध्यक्ष बनेका थिए ।
यस बिचमा झाले कुनै पनि शैक्षिक योग्यता प्राप्त नगरेपनि शिक्षा शाखाले पुनः काममा फर्किन आग्रह गर्दै पत्र पठायो । गत फाल्गुन १ गतेको पत्र अनुसार झाले अध्यक्षको जिम्मेवारीमा कार्यभार सम्हालिरहेका छन् । सोही दिन प्रअ ढकाललाई पनि पुरानै जिम्मेवारीमा फर्किन आग्रह गरेको पत्र उपमहानगरले थमाएको छ ।
विद्यालय व्यवस्थापन समितिले घिमिरेलाई अध्यक्ष बहाल गराइरहेको अवस्थामा उपमहानगरपालिकाले अर्को प्रअ पठाएको हो । साउन देखि माघसम्म उपमहानगरपालिकाको शिक्षा शाखामा हाजिर भएका ढकालले विद्यालयमा हाजिर हुन थालेका छन् । आफू प्रअ नबन्ने बताए पनि उपमहानगरले जिम्मेवारी तोकेरै पठाएको उनले बताए ।