धरान : गोर्खा सिमेट्री ट्रष्ट नेपालको ‘गोर्खा ट्रेल ब्लेजर नेपाल २०२५’ तेस्रो संस्करणको दौड प्रतियोगिता चैत २ गते हुने भएको छ ।
धरान-विष्णुपादुका गोर्खापार्क १० किलोमिटर दुरीको गोर्खा ट्रेल ब्लेजर दौडमा यसपालि ६०० धावक सहभागी हुने भएका छन् ।

यसपालि दौडमा प्रथम हुने पुरुष र महिला धावकलाई थप पुरस्कार स्वरूप हङकङमा आगामी सन् २०२६ हुने गोर्खा ट्रेल रनमा सहभागी गराइनेछ ।
पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ अप्रिल ५ को अवसरमा ट्रेल ब्लेजर खुल्ला दौड प्रतियोगिता हुने आज आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गोर्खा सिमेट्रिज ट्रस्टका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षक महेन्द्र राईले बताए ।
दौडको रुट धरान-१८ रत्नचोकबाट सुरु भएर मङ्गलवार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुका स्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा १० किलोमिटर दुरी पुरा गर्दै समापन हुनेछ ।
दौड महिला तथा पुरुषका छुट्टाछुट्टै हुने ट्रस्टका अध्यक्ष राईले बताए ।
महिला र पुरुष दुवै प्रतियोगिताका विजेतालाई प्रथम, द्वितीय, तृतीय नगद पुरस्कार क्रमश: २० हजार, १० हजार, ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।
पहिलो र दोस्रो विश्वयुद्ध लडेर वीरगति प्राप्त गरेका गोर्खाको सम्मानमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागिएको हो ।
उक्त अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्ते ढुङ्गा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित पूर्व ब्रिटिस गोर्खा सैनिक दल बहादुर राई र रत्न चौक निवासी ज्येष्ठ नागरिकहरूलाई सम्मान अभिनन्दन गरिने भएको छ ।