धरान : दोस्रो पटक धरानमा हुने ८ किलोमिटर दुरीको गोर्खा ट्रेल  ब्लेजर दौडमा यसपालि ५ सय धावक सहभागी हुने भएका छन् ।

पूर्व गोर्खाहरूको पुर्खा दिवस 'अप्रिल ५' को अवसरमा चैत  ३ गते ट्रेल ब्लेजर खुल्ला दौड प्रतियोगिता हुने आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षक रहेका आयोजक गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिएका हुन् ।

धरान-१८ रत्नचोकबाट सुरु भएर मंगलबार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुका स्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा ८ किलोमिटर दुरी पुरा गर्दै समापन हुने बताइएको छ ।

दौड महिला तथा पुरुषका छुट्टाछुट्टै हुने ट्रस्टका अध्यक्ष राईले बताए ।

महिला र पुरुष दुवै प्रतियोगिताका विजेतालाई प्रथम, द्वितीय, तृतीय नगद पुरस्कार क्रमशः १५ हजार, १० हजार, ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

पहिलो र दोस्रो विश्वयुद्ध लडेर वीरगति प्राप्त गरेका गोर्खाको सम्मानमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता दोस्रो पटक आयोजना गर्न लागिएको हो ।

उक्त अवसरमा दोस्रो विश्वयुद्ध लडेका गोर्खा योद्धाहरूलाई गोर्खा सिमेट्रीज ट्रस्टले विश्व युद्धका जीवित वीर गोर्खा योद्धाहरूलाई सम्मान अभिनन्दन गर्ने कार्यक्रम छ ।

सम्मानित हुनेहरूमा झापाका १०३ वर्षीय आर्मी नम्बर २११३७८२५ फस्ट जेआर डम्बर ध्वज लिम्बू, भोजपुरका १०१ वर्षीय १०७०९८१४ दस जेआरका इन्द्र बहादुर राई, तेह्रथुम फेदापका १०१ वर्षीय बमबहादुर निङ्लेखु लिम्बू र खोटाङ जन्ते ढुङ्गाका ९९ वर्षीय डम्बरसिंह सुक्तिहाङ राई छन् ।