इटहरी : ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरा क्षेत्रमा जारी "नो केबलकार" आन्दोलनलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । आन्दोलन चर्किरहेका बेला सरकारले वार्ता र संवादबाट समाधान खोज्नुपर्ने माग राख्दै माओवादीले दमनको बाटो छाड्न आग्रह गरेको हो ।
राजनीतिक नेतृत्वसँग वार्ता गर्ने प्रस्ताव राखेको आन्दोलनरत पक्षलाई सरकारले बेवास्ता गरेको माओवादीको ठहर छ । मन्त्रीस्तरीय वार्ता टोली गठन गरेर समस्या समाधान गर्न सकिने माओवादीले बताएको हो ।

कोशी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले प्रेस विज्ञप्ति जारी गर्दै शनिवार राती भएको घटनाको विरोध गरेका छन् । प्रहरी प्रशासन लगाएर आन्दोलन दबाउन खोज्ने सरकारको नीति गलत भएको विज्ञप्तिमा उल्लेख छ ।
सरकार र आन्दोलनकारी दुवै पक्षलाई संयमित रहन आग्रह गरेको माओवादीले प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू असफल भएको बताएको छ ।