धरान : हिजो त्याग गरेका माओवादी नेता, कार्यकर्ता आज सम्पत्ति कमाउने र थुपार्नेमा व्यस्त भएको उल्लेख गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेर जनविश्वास बढाउनु पर्ने बताएका छन् ।

उनले भने ‘पहिला पार्टी पदाधिकारीहरूबाट सम्पत्ति छानबिन गर्नुपर्छ ।’ त्यसपछि नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्दै जनता सामु सत्य तथ्य स्पष्ट कुरा बाहिर ल्याउनु पर्ने उनको भनाई छ ।

धरानमा सोमबार भएको पार्टी कार्यकर्ता भेटघाटमा उपमहासचिव शर्माले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्न केन्द्रीय कमिटीको बैठकमा स्वतन्त्र छानबिन आयोग बनाउने प्रस्ताव राखेको बताए ।

देश माओवादीकै एजेन्डामा चलिरहेको बताउँदै उपमहासचिव शर्माले पार्टी नेता कार्यकर्ता भने जनता माझ गाउँ गाउँ नपुगेर सहर केन्द्रित हुँदा पार्टी कमजोर भएको बताए । तर जनताको एजेण्डा र विषयवस्तु लिएर गाउँ फर्कनु जरुरी भएको उनको भनाई छ ।

पार्टीले देशव्यापी रूपमा ‘जनतासँग माओवादी’ सुशासनको अभियान चलाई रहेको उल्लेख गर्दै शर्माले सबैभन्दा पहिला विद्यमान बेरोजगारी अन्त्य गर्न जरुरी भएको बताए ।

बेरोजगारी अन्त्य गर्न स्वास्थ्य, शिक्षा, यातायातको विकास गरी कम्तीमा मासिक ३० हजार सम्म कमाउन गाउँमै स्वरोजगार उद्यम सुरु गर्नु पर्ने उनको भनाई छ । नेपालीहरूमा बिदेसिने प्रवृत्ति बढेपछि उनीहरूको पारिवारिक वातावरण बिग्रिएको उनको भनाई थियो ।

शर्माले माओवादी विद्यार्थी सङ्गठनमा उमेर हद लागु भएकोले स्ववियु चुनावमा क्रान्तिकारी विद्यार्थी सङ्गठनले इतिहास रचेको बताए । जनता जोडिँदै गाउँ कमिटी चलायमान बनाएपछि २०८४को चुनावमा पहिलो पार्टी हुने उनले दाबी गरे ।

माओवादी केन्द्रको हाल कुनै सेल कमिटी चलायमान नरहेको उनको भनाई छ । शर्माले भने ‘अब पार्टी कमिटी उत्पादनसँग जोडिनु पर्छ ।’ पार्टी कमिटी जनतासँग उत्पादनमा जोडिए माओवादीलाई जनताले पहिलाको जस्तै विश्वास गर्ने उनको भनाई छ ।

पूर्व राजाको गतिविधि बढेको प्रसङ्गमा शर्माले भने ‘राजतन्त्रवादी सोच भएका व्यक्तिहरूले समाज धमिल्याउन खोजेका छन् ।’ राजावादीभन्दा नेताहरूप्रति आक्रोशित जमात धेरै रहेको उल्लेख गर्दै उनले विकल्प खोज्दैमा जनता राजाको पक्षमा नभएको दाबी गरे ।