धरान : कोशी प्रदेश सरकारद्वारा घोषित नयाँ वर्ष २०८२ प्रदेश पर्यटन वर्षबाट प्रदेशलाई मात्र नभई मुलुककै आर्थिक विकासमा ठुलो योगदान पुग्ने विश्वास गरिएको छ ।

तेह्रथुमको टिएमजे क्षेत्र लालीगुराँस नगरपालिका-१ स्थित गुराँसको आरआर गार्डेन पार्कमा बुधवार आयोजित घोषणा सभामा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको उद्घाटन गरेका छन् ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ कोशी प्रदेश सरकारले घोषणा गरेको हो । लालीगुराँस नगरपालिका अहिले नेपालको पर्यटकीय गन्तव्यको रूपमा विश्व चर्चित बनेको छ ।

अमेरिकाबाट प्रकाशित हुने 'टाइम म्यागेजिन'ले सन् २०२५ को विश्वको पर्यटकीय गन्तव्यको १००औँ सूचिमा नेपालको लालीगुराँस नगरपालिका स्थित चोलुङ पार्कलाई ४२औँ नम्बरमा राखेको छ ।

उपप्रधानमन्त्री सिंहले भने ‘कोशी प्रदेश सरकारद्वारा घोषित पर्यटन वर्षले प्रदेशको मात्र नभई मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने छ ।’ उनले मुलुकको आर्थिक अवस्था बदल्न तीनै तहका सरकारको योगदान आवश्यक रहेको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको चर्चा गर्दै महत्त्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटनबाट राष्ट्रिय पुजी निर्माण गरिने बताए ।

स्थानीय तहको सहकार्यमा पर्यटनबाट नमुना प्रदेश बनाउने योजनामा सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार जरुरी रहेकोमा उनले ध्यानाकर्षण गराए । मुख्यमन्त्रीले भने 'सबै जातीय धर्म संस्कृतिको जगेर्ना र त्यसको संरक्षण गरेर सरकार पर्यटनको विकासमा अघि बढ्नेछ ।’

पर्यटनबाट वैदेशिक ऋण र व्यापार घाटा काम गर्न सकिने उनले बताए । ऊर्जा, जलविद्युत पर्यटन, जडीबुटीका क्षेत्रमा काम गर्न प्रदेशलाई बन्द हडताल मुक्त बनाउन प्रदेशका समस्या वार्ताको माध्यमबाट समाधान गर्न मुख्यमन्त्रीले आग्रह गरे ।

नेपालको पर्यटन प्रवर्द्धन गर्न भारत र चीनबाट पर्यटक भित्राउन सक्नुपर्ने बताउँदै उनले त्यसका लागि सङ्घीय सरकारको भूमिका जरुरी भएको बताए ।

भारत विहारका लोकसभा सदस्य रामप्रित मण्डलले नेपालमा भारतीय पर्यटक पठाउन समन्वय गर्ने प्रतिबद्धता प्रकट गर्दै नेपाल र भारतबिच गहिरो सम्बन्ध रहेको उल्लेख गरे । भने ‘नेपालीहरूले भारतीय सेनामा कार्यरत रही भारतमा पुर्‍याएको योगदान उल्लेखनीय छ ।’

प्रदेश सरकारले कोशी प्रदेशमा १० लाख पर्यटक भित्राउने लक्ष्य सहित पर्यटन वर्षको घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनमा गर्ने भनिएकोमा उनी नआउने जानकारी पाएपछि आयोजकले उपप्रधान तथा सहरी विकास मन्त्री सिंहको प्रमुख अतिथि बोलाएको हो ।

प्रदेश सरकारले विराटनगरबाटै पत्रकार सहित आगन्तुकहरू बसन्तपुर पुर्‍याएको थियो । कार्यक्रममा लालीगुराँस नगरपालिका प्रमुख अर्जुनबाबु माबुहाङले गाउँमा विकास नभएको र सहरमा छेलोखेलो भएको बताए । गाउँमा गाउँकै श्रोत प्रयोग गरेर विकास गर्न सुझाव दिँदै गाउँ विकास मन्त्रालय गठन गर्नुपर्ने धारणा राखे ।

समारोहमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्ट, प्रतिनिधिसभा सदस्यहरू सीता गुरुङ, राजेन्द्र राई लगायतको उपस्थिति थियो ।

Tourism yearTourist-Year-2081-Koshi