इटहरी : कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ लाई भव्यताका साथ मनाउने घोषणा गरेको छ । १० लाख पर्यटक भित्र्याउने योजना सहित बुधवार ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को उद्घाटन हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भन्दै प्रदेश सरकारले तयारी तीव्र पारेको छ । प्रदेश सरकारका पदाधिकारी, प्रदेशसभा सदस्य, कर्मचारी तथा पर्यटनकर्मीहरू मङ्गलवार नै तेह्रथुम पुगिसेका छन् । तेह्रथुम र सङ्खुवासभाको सिमानामा पर्ने तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा उद्घाटनको भव्य तयारी भइसकेको छ ।

तर गुराँस नफुलेपछि दमकलले पानी हालेको देखि पर्यटन वर्षको फितलो तयारी बारे आलोचना भएपछि प्रधानमन्त्री नआउने भएका छन् । प्रधानमन्त्री नआउने भएपछि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने भएका छन् ।

उता पर्यटन वर्षको उद्घाटनमा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आलोचना गरेका छन् । सरकारले समस्याका बिचमा उत्सव गर्न लागेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले असोजको बाढी पहिरोले क्षति ग्रस्त सडक तथा पुलको मर्मत नगरेर  सरकार तीनजुरेमा पर्यटन वर्षको उद्घाटनको उत्सव मनाएको बताए ।

क्षतिको प्रक्रिया सङ्गत सिफारिस भएको र सदन मार्फत कुरा उठिरहेको विषयमा प्रदेश सरकारले बेवास्ता गरेको गुनासो गरे । सरकारले पिडा नसुनेको भन्दै उनले पिडा बोकेको भूगोलको प्रतिनिधि भएको हिसाबले उत्सवमा सहभागी हुन नसक्ने धारणा राखेका छन् । उत्सवमा पिडा बोकेर मुस्कुराउन नसक्ने बताउँदै ‘कोशी प्रदेश सरकार काम कुरो एकातिर कुम्लो बोकी तीनजुरेतिर’ भन्दै व्यङ्ग्य गरे ।

koshi-tourkoshi-card