धरान : साहित्यकार गिरिराज आचार्यको नयाँ पुस्तक ‘वीपी-रेणु-मोती-भारतेन्दु, नेपाल-भारत सेतु’ भारतको बनारसमा आइतबार विमोचन भएको छ ।

बनारसस्थित भारतेन्दु भवनमा आयोजित समारोहकाबिच बनारस हिन्दु विश्वविद्यालय (विएचयु) नेपाली विभाग प्रमुख दिवाकर प्रधान, नेपाल प्रतिनिधि प्राध्यापक डा. मुकुन्द शर्मा, भारतेन्दु भवनका दीपेशचन्द्र चौधरीबाट पुस्तकको विमोचन भएको हो ।

विमोचन समारोहमा लेखक गिरिराज आचार्यलाई बनारस हिन्दु विश्वविद्यालयले अभिनन्दन गरेको छ । अभिनन्दन पत्रमा नेपाली साहित्य र पत्रकारिताका साथै गवेषणमा लागिपर्नुभई पुस्तक प्रकाशन गरिएको कार्यलाई उच्च मूल्याङ्कन गरेको छ ।

भनिएको छ ‘तपाईँले प्रकाशित गर्नु भएको ग्रन्थ ‘वीपी-रेणु-मोती-भारतेन्दु’ लाई विमोचन गर्ने स्थल काशीलाई उपयुक्त ठान्नु भएकोमा यस पुनीत कार्यको लागि इन्द्रधनुषी अभिनन्दन ज्ञापन गर्दछौँ ।’

नेपाल-भारतका ४ साहित्यकारहरूको सम्यक् सहकर्ममाथी विमर्श गरिदिएर हिन्दी र नेपाली साहित्यमाझ सम्बन्धसेतुलाई पुन नवीनीकरण गरिदिएको अभिनन्दन पत्रमा उल्लेख छ ।

‘वीपी-रेणु-मोती-भारतेन्दु’ नामक पुस्तक आचार्यको पछिल्लो नयाँ कृती हो । पुस्तकमा आचार्यले नेपाली साहित्यकार विश्वेश्वरप्रसाद कोइराला र भारतीय साहित्यकार फणिश्वर नाथ रेणु तथा नेपाली साहित्यका युवक कवि मोतीराम भट्ट र भारतीय साहित्यकार भारतेन्दुको साहित्यिक विवेचना गरेका छन् ।

नेपाल-भारतका ४ महान् साहित्यकारहरूको चिन्तन र रचना गर्भ तथा सम्बन्धले नेपाल-भारतबिचको सामाजिक सांस्कृतिक सेतु पुलको काम गरेको विषयमा पुस्तकले व्याख्या गरेको छ । पुस्तकमा साहित्यकारहरू बिच लेखक आचार्यसँग भएका पत्राचारहरू पनि सङ्कलित छन् ।

पुस्तक श्रीमती निरजा आचार्यले प्रकाशित गरेकी हुन् । कुल ५३४ पृष्ठको पुस्तकको मूल्य ८०० रुपैयाँ रहेको छ । पुस्तक काठमाडौँका प्रकाशन गृहहरू, धरान सहित प्रमुख सहरहरूका पुस्तक पसलहरूमा विक्री वितरण भइरहेका छन् ।