धरान: कवि शिरोमणि साहित्य साधना समाजका संस्थापक अध्यक्ष स्वर्गीय सिद्धिकर्ण शर्मा ८८ वर्षको उमेर सम्ममा लेखनमा सक्रिय थिए ।
उनको अन्तिम कृति ‘प्रतिनिधि कविता सङ्ग्रह’ २०७६ सालमा प्रकाशित भएको थियो । विक्रम संवत् १९८८ सालमा जन्मिएका शर्माको ९३ वर्षको उमेरमा गत: फागुन २९ गते दुःखद निधन भएको थियो ।
उनको ४५ औँ पुण्य तिथिमा आज शनिवार बिहान आयोजित श्रद्धाञ्जली सभामा प्राडा.गोपालप्रसाद भण्डारीले भने ‘उहाँले धेरै पेशा अपनाए पनि साहित्य लेखनलाई जीवन पर्यन्त विश्राम दिनु भएन ।’
प्राडा भण्डारीले सिद्धि कर्णले अदालतमा जागिर, प्रहरी र पछिल्लो समय कानुन व्यवसाय अपनाए पनि लेखनले जारी राखेका थिए । उनले पहिलो पटक २०१८ सालमा ‘सिपाही’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए ।
उनले भने ‘सिद्धि कर्ण शर्माले नेपाली साहित्यलाई कुल १५ वटा कृती छोडेर जानु भएको छ ।’ प्राडा.खेमनाथ खनालले धरान–१६ लेखनाथ चौकमा कवि शिरोमणि लेखनाथ पौडेलको शालिक स्थापना सिद्धिकर्ण शर्माको अठोटका कारण सम्भव भएको बताए ।
आर्थिक सङ्कलन अभियानमा हिँड्दा निराश भएको टोलीलाई उनले आत्मविश्वास बढाउने गरेको सम्झँदै भने ‘सहयोग भनेको १ रुपया भए पनि स्वीकार गर्दै जानु पर्छ भन्ने उहाँको अठोटले अन्ततः शालिक स्थापनाको रकम सङ्कलन सफल भयो ।’
श्रद्धाञ्जली सभा पूर्व प्रदेश प्रमुख प्राडा.गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यमा भएको थियो । उनले सिद्धि कर्ण शर्मा भाषा, साहित्य सेवी मात्र नभई समाज अध्ययनका एक अध्येता भएको पनि उनका कृतिहरूले पुष्टि गर्ने बताए ।
उनका प्रकाशित कृतिहरूमा साहित्य बाहेक २००७ सालको क्रान्ति, नेपालका आदिवासी जनजाति, बहुजातिय समाज, आयृ धिमाल वंशावली, नेपालका शाह वंशीय राजाहरूकै समीक्षात्मक इतिहासका विषयहरू पनि छन् ।
सभाको सभापतित्व गरेका समाजका उपाध्यक्ष डा.भवानीशंकर भट्टराईले लेखनाथ स्थित कवि शिरोमणिको संस्थागत संरक्षण गर्न सिद्धकर्णको निरन्तर प्रयासबाट कवि शिरोमणि लेखनाथ साहित्य साधना समाज स्थापना भएको बताए ।
धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले लेखनाथको शालिक वडाको प्रतिष्ठा र सम्पत्ति भएकोले यसको संरक्षणका लागि प्रतिबद्धता जाहेर गरे ।
उनले धरान–१६ स्थित शारदा बालिका नमुनामा माविको भौतिक सम्पत्तिको संरक्षणको लागि पनि आफू क्रियाशील रहेको बताए । सभाको सञ्चालन डा.महानन्द तिम्सिनाले गरेका थिए । सिद्ध कर्ण शर्माका कृतिहरू निम्न छन्– (सूची)