इटहरी : मङ्गलवार तरुण दल इटहरी उपमहानगर समितिको ब्यानरमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति सिताराम मेहताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुई सय बढी नेता कार्यकर्ता उपस्थित भए । काँग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल, क्षेत्र नम्बर २(क) सभापति सुवेक्छु देवान लगायतले कार्यक्रममा सम्बोधन गरे ।
तरुण दलको आधिकारिकता देखाउने गरी आयोजना गरिएको कार्यक्रममा नेताहरू उत्साह र आक्रोशको भावभङ्गीमा देखिए । पार्टी नेतृत्वको समर्थन खोजेको विष्णु खत्री नेतृत्वको समितिले वैधानिकता पाउने प्रयास गर्यो ।
इटहरीमा कार्यक्रम सम्पन्न भएकै दिन तरुण दल केन्द्रीय समितिले सुनसरी जिल्ला समितिलाई पालिका अधिवेशन सम्पन्न गराएकोमा धन्यवाद दियो । सुनसरीका बाह्रवटै पालिकाको अधिवेशन सम्पन्न गराएको भन्दै धन्यवादको पात्र भए सुनसरी अध्यक्ष सिजन गुरुङ । लामो समयपछि कार्यकर्ता स्तरमा तरुण दलको चर्चाले युवाहरूलाई ऊर्जा बढाएको छ ।
गुरुङकै नेतृत्वमा वैशाख ८ गते इटहरी उपमहानगर अधिवेशन सम्पन्न भइसकेको छ । अनीश सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति गठन मात्र भएन केन्द्रीय समितिले सुवेदीकै नाम सार्वजनिक समेत गर्यो । सुवेदी नेतृत्वको समिति गठन भएपछि खत्री नेतृत्वको समितिले अवैधानिक अधिवेशन गरेको भन्दै असन्तुष्टि जनायो । विज्ञप्ति जारी गर्दै अध्यक्ष खत्री र सचिव बादल दाहालले कुनै पनि सूचना नदिईकन तरुण दलको विधान विपरीत नगर समितिको अधिकारमाथि हस्तक्षेप गर्नु अवैधानिक भएको जनाए ।
तरुण दलका नेताहरूले मात्र हैन काँग्रेसका नगर, क्षेत्र र पूर्व जिल्ला सभापतिहरूले पनि सुवेदी नेतृत्वको समिति अवैधानिक नै भएको बताए । खत्रीलाई नै मान्यता दिने गरी नेताहरूले अभिव्यक्ति दिए । तरुण दल केन्द्रीय समितिले भने जिल्लाले पठाएको सुवेदीको नामलाई आधिकारिकता दिइसकेको छ ।
यसअघि नै जिल्ला समितिले भने २०८१ चैत २२ गते जिल्ला प्रतिनिधि मार्फत चैत २६ गते भित्रमा सम्पूर्ण पालिकाको अधिवेशन गराउन निर्देशन दिएको थियो । केन्द्रीय समितिको निर्देशन अनुसार अन्य पालिकामा अधिवेशन भए पनि इटहरीमा हुन सकेन ।
जिल्ला अध्यक्ष गुरुङले पुनः चैत २७ गते पत्र पठाउँदै इटहरी उपमहानगर समितिलाई निर्देशन दिए । जिल्ला प्रतिनिधिले बारम्बार सम्पर्क गर्दा समेत गैरजिम्मेवार ढङ्गले बेवास्ता गरेको भन्दै २०८२ वैशाख २ गते भित्रमा अधिवेशन गराउन अल्टिमेटम सहितको पत्र पठाए ।
दुईगते पनि अधिवेशन नभएपछि गुरुङले ८ गते इटहरी उपमहानगर अधिवेशन हुने जानकारी सहितको पत्र पठाए । बारम्बार पत्राचार गर्दा समेत सम्पर्कमा नआएको र अधिवेशन भाँड्न खोजेको उल्लेख गर्दै ८ गते इटहरी नगर अधिवेशन हुने जानकारी गराएका थिए ।
सोही मितिमा भएको अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । नयाँ कार्यसमिति गठनपछि खत्री नेतृत्वको समिति झस्कियो । त्यसैको प्रतिक्रिया स्वरूप मङ्गलवार इटहरीमा कार्यक्रम आयोजना भएको हो ।
खत्रीले भने जिल्ला समितिले आधिकारिक पत्र नपाएको बताउँदै वडामा पूर्णकालीन सदस्यता वितरण भइरहेको अवस्थामा हठातमा अधिवेशन गरिएको गुनासो गरे । वडा अधिवेशनपछि नगर अधिवेशन हुनुपर्नेमा एक्कासि युवाहरू पठाएर तरुण दलको अधिवेशनको दबाब बढाइएको उनको भनाइ छ । अधिवेशन स्थगित गराउन आफूले जिल्ला सभापति गुरुङलाई बारम्बार सम्पर्क गरे पनि सुनुवाइ नभएको खत्रीले बताए ।