धरान : अख्तियारमा दिइएको सूचना वा परेको उजुरी अनुसन्धान गर्न अचानक ‘अख्तियारले छापा मारेको’ खबर सुनिँदै आएको हो । तर धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको विरुद्ध परेको उजुरीबारे अख्तियारले स्पष्टीकरण मागेको र नगर प्रमुख साम्पाङ उल्टै अख्तियारलाई प्रश्न गर्दै लेखेको पत्र पटक-पटक सार्वजनिक हुँदै आएको छ । 
पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले धरान उपमहानगरपालिकालाई मङ्गलवार पत्रै लेखेर आज बिहीबार अनुसन्धानका लागि टोली आउने जनाउ दिएको थियो ।
अख्तियारले जनाउ दिए लगत्तै प्रमुख साम्पाङले दनादन फेसबुक स्ट्याटस, भिडियो सन्देश दिदैं अख्तियारलाई चुनौती दिएका थिए । उनकै स्ट्याटसबाट उपमहानगरपालिकामा अख्तियार पस्ने कुरा सबैले थाहा पाए ।
अख्तियारले ‘अनुसन्धान गर्न आउने’ भनी नगर प्रमुख साम्पाङलाई अग्रिम जनाउ दिएको थाहा पाएपछि तत्काल सामाजिक सञ्जालमा टिप्पणीहरू आउन थालेको थियो । धरानमा सामाजिक अभियन्ता महेश श्रेष्ठले लेखेका छन् ‘अख्तियार भोज खान आउने हो कि छापा मार्न ?’
उनका अनुसार ‘आयोगले प्रमाणहरू लुकाउन नपाओस् र नष्ट गर्न नभ्याओस् भनेर अचानक छापा मार्नु पर्नेमा त्यही अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरान उपमहानगरपालिकामा भोज खान आउने जस्तो अग्रिम सूचना दिएर नयाँ कीर्तिमान कायम गरेको छ ।’
तर अग्रिम जनाउ दिएको दिन आज बिहीबार कार्यालय समय ५ बजे बितिसके पछि पनि अख्तियारको टोली उपमहानगरपालिका कार्यालय आएन ।
अख्तियारको टोली नआए पछि श्रेष्ठले साम्पाङको भिडिओ सन्देशसँगै माथी लेखेका छन् ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग मेयर हर्क साम्पाङले थर्कापछि धरान आएन ।’
अख्तियारको जनाउ पाउने बित्तिकै नगर प्रमुख साम्पाङले लेखेका स्ट्याटस भने कडा थर्काउने खालकै छन् । उनले लेखेका छन् ‘मेरो लिखत तोक अनुमति बिना कुनै पनि निकायलाई चाहे त्यो जोसुकै होस धरानमा अनुसन्धान, अध्ययन, सोधपुछ गर्न दिइने छैन । अनेकको झमेला आइलाग्ला होस गर, सिस्टम सबैले मान्नु पर्छ, जय सिस्टम ।’
यस्तै ‘धरान उपमहानगरपालिका भित्र कुनै पनि किसिमको अनुसन्धान या अध्ययन गर्नु पूर्व नगर प्रमुखलाई भेट्नु ।’
यस्तै ‘अख्तियारलाई धरानमा स्वागत गर्दा कम्तीमा १० जना पत्रकार पनि राख्नु परो ।’ ‘सबै कुरा पारदर्शी हुनुपर्छ, म ५/६ वटा प्रश्न गर्छु, उत्तर ठिक पारेर आउनु ।’ उनले भिडिओ सन्देश पनि राखेका छन् । अख्तियार आएको बेला भेला हुन समर्थकहरूलाई त्यसमा आव्हान गरिएको छ ।
नगर प्रमुख साम्पाङको स्ट्याटसले फैल्याएको सनसनीले आज बिहीबार अख्तियार आएको भए कस्तो दृश्य देखिन्थ्यो होला ? त्यो उनका समर्थक युट्युबहरूले अहिले सम्म सामाजिक सञ्जालमा छ्याप छ्याप्ती बनाई सकेका हुन्थे ।
'नगर प्रमुखसँग डराएर नआएको होइन'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीका कार्यालय प्रमुख खगेन्द्र प्रसाद रिजालले अख्तियारका प्राविधिक र कर्मचारी सङ्खुवासभा कार्यालयकै काममा गएको तर बाटो खराबीका कारण नआइपुगेका र अरू  प्राविधिकको कार्यव्यस्ताताले आज जान नपाएको बताए ।
उनले भने ‘तर अख्तियारले जुनसुकै बेला जोसुकैलाई अनुसन्धान गर्न सक्छ । ढुक्क हुनुस् तर हामी नगरप्रमुख देखि डराएर नगएका भने होइनौँ । कुनै दिन जान्छौँ ।’
उनका अनुसार कानुनी पद्धति अनुरूप उजुरी परेपछि छानबिन गर्नु नै पर्छ । अधिकृतहरू मात्र गएर हुँदैन सम्बन्धित विषयका प्राविधिक जानै पर्दछ ।
अख्तियारले छापा मार्नु पर्नेमा पत्राचार गरेर अनुसन्धान गर्न आटेको र नगरप्रमुख देखि डराएर अख्तियार छापा मार्न नआएको आरोपका बारेमा अख्तियार प्रमुख रिजालले भने ‘अख्तियार पत्र काट्दै अनुसन्धानलाई प्रकियामा समन्वय गरिदिनु भन्दै पत्राचार गरेको हो ।’ 
प्रमुख रिजालका अनुसार नगरप्रमुख हर्क साम्पाङ माथि छानबिन गर्न मात्र नभई समग्र योजना आयोजना र परियोजनाका शीर्षकहरूमा अख्तियारमा निवेदन परेकाले र नगरप्रमुखले नै खानेपानी ‘एडिबी’ लगायतका विषयमा निवेदन दिएकाले आवश्यक समन्वयकालागि उपमहानगरपालिका प्रशासकीय अधिकृतलाई पत्र काटेको हो ।
उनले भने ‘अनुसन्धानमा कार्यालयको सामाग्री आवश्यक हुने भएकाले समन्वयका लागि पत्राचार गरेका हौँ, अख्तियार गएको बेला जनप्रतिनिधि र पालिकाका सम्बन्धित कर्मचारी नभेटिने भएकाले पत्राचार गरेका हौँ ।’ रिजालका अनुसार जाने २ दिन वा त्यो भन्दा अगाडी पत्राचार गर्ने सामान्य चलन छ ।