धरान : सुनसरी निर्वाचन क्षेत्र १ बाट नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, श्रम संस्कृति पार्टी, किसान मजदुर पार्टी, स्वतन्त्र लगायत कुल २८ जना उम्मेदवारले आज मङ्गलवार धरान–१५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले मनोनयन दर्ता लाई व्यवस्थित गर्न तोकिएको समय अनुसार मनोनयन पत्र दर्ता गराउन दलहरू जुलुस, नाराबाजी गर्दै निर्वाचन कार्यालय पुगेका थिए । यसै क्रममा धरानका निवर्तमान नगर प्रमुख, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना समर्थकहरूसँग जुलुस नाराबाजी सहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार मनोनयन दर्ता गर्ने उम्मेदवारहरूमा नेपाली काँग्रेसका तर्फबाट सुजेन्द्र तामाङ, नेकपा एमालेका टीकाराम लिम्बु, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई मनोज, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गोमा सरिन तामाङ, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू, मङ्गोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ र राष्ट्रिय साझा पार्टीबाट भूपी राई रहेका छन् ।
साथै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बू, नेकपा माओवादीका दिलकुमार बास्तोला, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार राई, जनता समाजवादी पार्टी सञ्जय राई, राप्रपाबाट उद्धव श्रेष्ठ, संयुक्त नागरिक पार्टीका नरेश बिक, उज्यालो पार्टीबाट डम्बर लावती जेन्टल, नेकपा संयुक्तबाट श्याम नारायण राज धामी, संयुक्त नागरिक पार्टीका नरेश बिक, नेपाल जनमुक्ति पार्टी याम बहादुर लिम्बू, आम जनता पार्टीका राम बहादुर विष्टले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
स्वतन्त्र शेष प्रसाद रेग्मी, स्वतन्त्र ओम कृष्ण उदास, स्वतन्त्र सुवास विश्वकर्मा स्वतन्त्र अजय विश्वकर्मा, जनता समाज वादी पार्टी नगेन्द्र बहादुर लिम्बु, स्वतन्त्र चेत बहादुर राई, स्वतन्त्र जीवनकला राई, मितेरी पार्टी नेपालका डा. रक्ष कुमार राईले मनोनयन दर्ता गराएका छन् ।
सुनसरी १ मा स्वतन्त्र उम्मेदवारका रूपमा ८ जनाले मनोनयन पत्र दर्ता गराएको निर्वाचन आयोग प्रमुख दिव्य राज घिमिरेले बताए । निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी जाँच, दाबी–विरोध र अन्तिम नामावली प्रकाशन पछि उम्मेदवारलाई चुनाव चिन्ह वितरण हुनेछ ।
निर्वाचन कार्यालय प्रमुख घिमिरेका अनुसार सुनसरी निर्वाचन क्षेत्र १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता छन् । यस निर्वाचन क्षेत्रबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए ।