धरान : नेपाल प्रहरी कर्मचारीको राशन स्केल वृद्धिले प्रहरी विभागको बहुपक्षीय हितमा भूमिका खेल्ने प्रहरी कर्मचारीहरूले बताएका छन् ।
नेपाल सरकारले २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल तथा राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक आइजिपी दानबहादुर कार्कीको पहलमा स्केल वृद्धि भएको हो ।
लामो समय पछि भएको रासन स्केल वृद्धिले प्रहरी कर्मचारीहरू उत्साहित भएको विभागको श्रोतले जनाएको छ । प्रहरी कर्मचारीहरू अनुसार यो वृद्धिले उनीहरूको आर्थिक सुरक्षा, कल्याण र आत्मसम्मान अभिवृद्धिमा समेत बल पुर्याएको छ ।
सेवाकालीन प्रहरी कर्मचारीलाई आवश्यक पोषणमा सुधार, स्वास्थ्य, कार्यक्षमता र कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । स्केल वृद्धिको निर्णयले प्रहरी सङ्गठनमा मानसिक रूपले मनोबल, अनुशासन, संस्थागत छवि, कर्मचारी आबद्धताको दर मजबुत बनाउने विश्वास गरिएको छ ।
नेपाल प्रहरीको राशन स्केल दशकौँ देखि अपर्याप्त र असमान रहँदै आएको थियो ।
उहिले देखी सुधार हुन नसकेको राशन प्रणाली सुधार गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जिम्मेवारी सम्हाले लगत्तै उच्च प्राथमिकतामा राखेका थिए ।
उनले निरन्तर सरकार सामु प्रभावकारी रूपमा पुनरावलोकन आवश्यक भएको विषय उठाउँदै आएका थिए ।
अन्ततः महानिरीक्षक कार्की स्केल वृद्धि गराउन सफल भएको प्रहरी स्रोतको भनाई छ । यो निर्णय प्रहरीको मनोबल बढाउन महानिरीक्षक कार्कीले गरेको ऐतिहासिक पहलको परिणाम मानिएको छ ।
आहार तथा पोषणको औसत आवश्यकताको सन्दर्भमा अन्य सुरक्षा निकायहरूको तुलनामा नेपाल प्रहरीको न्यून रहेको थियो । दशर्कौ देखीको यो अवस्थामा राशन स्केलमा गरिएको यस सुधारलाई सङ्गठनभित्र मात्र नभई आम सर्वसाधारण नागरिकले समेत सकारात्मक रूपमा लिएका छन् ।
विशेष गरी जेन–जी विद्रोह पछि प्रहरी मनोबलमा परेको असरलाई ध्यान दिएर त्यसलाई माथी उठाउन आइजिपी कार्कीले जनशक्ति कल्याण, आत्मसम्मान र संस्थागत सुदृढीकरणलाई प्राथमिक एजेन्डा बनाएका थिए । जसमा उनी सफल भएको पूर्व उच्च प्रहरी अधिकारीहरूको भनाई छ ।