धरान : कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले विजयपुरको इतिहासको बारेमा भइरहेको विवादलाई विषय वस्तुमा आधारित तथ्य र तार्किक बहस बनाउनुको सट्टा गाली गलौज,आरोप प्रत्यारोपमा लैजान नहुने बताएका छन् ।
मदनकुमार चोङवाङद्वारा लिखित ‘नेपालको राजनीतिमा लिम्बुहरूको सहभागिता’ पुस्तक विमोचन कार्यक्रममा उनले भने शक्ति र नियन्त्रण चाहने समूहहरूले समय र परिस्थिति अनुसार धार्मिक सम्प्रदाय बिच सद्भाव र एकता बिथोल्न खोज्ने बताउँदै त्यसबाट बच्नु पर्नेमा जोड दिए ।
प्रदेश प्रमुख खापुङले इतिहास र तथ्यमा आधारित विषयवस्तुमा औपचारिक वा अनौपचारिक संवाद मार्फत मतभेद समाधान गर्दा सामाजिक सद्भाव र मित्रता कायम रहने बताए ।
उनले कोशी प्रदेशको नामकरणबारे उठ्ने विवादमा प्रदेश प्रमुखको कुनै भूमिका नहुने बताउँदै भने ‘प्रदेशको नाम संविधान अनुसार प्रदेश सभाबाट भएको निर्णयका आधारमा रहेको हो ।’ प्रदेश प्रमुखको नामकरण प्रक्रियामा प्रत्यक्ष भूमिका नरहेको र आफूले केवल संवैधानिक प्रक्रिया अनुसार प्रमाणीकरण गर्ने जिम्मेवारी मात्र निर्वाह गरेको स्पष्ट पारे ।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले नगरभित्रका विभिन्न विषयमा समन्वय, व्यवस्थापन र छलफलका लागि नगर प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए । उनले भने ‘समितिबाट हुने निर्णय र कार्यहरू नगर सरकारकै स्वामित्वमा रहने छ ।’
उनले इतिहास, धर्म,भाषा, लिपि र संस्कृतिसँग सम्बन्धित विषयमा छलफल गर्दा कुनै पनि समुदाय वा धर्मप्रति आक्षेप नलगाई आपसी सम्मान र सद्भाव कायम राख्नुपर्नेमा जोड दिए ।
कावा प्रमुख बेघाले भने ‘कुनै पनि विषयमा सतही टिप्पणी भन्दा तथ्य र तर्कमा आधारित बहस गर्दै भाषा, लिपि र संस्कृतिको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।’
पुस्तक विमोचनमा पुस्तक माथि परिचर्चा संस्कृति अध्येता अमित थेबे लगायतले पुस्तक परिचर्चा गरेका थिए । कार्यक्रममा पूर्व प्रदेश प्रमुख प्राडा.गोविन्द तुम्बाहाम्फे पुस्तक पूर्व लिम्बुवान क्षेत्रको राजनीतिमा नयाँ इतिहासको दस्ताबेज भएको बताए ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरू उज्याले नेपालका केन्द्रीय सदस्य जेन्टल लावती, समाजवादीका केन्द्रीय सदस्य ताजुब लिम्बु, नेपाली कम्युनिस्ट पार्टीका मुक्साहाङ मेन्याङवो, नेकपा एमाले धरान अध्यक्ष हर्क एभेङ लगायत लिम्बुवानको राजनीतिका बारेमा बोलेका थिए ।
हुक्पाचोङबाङ कल्याण संघव्दारा आयोजित विमोचन समारोहको सभापतित्व सङ्घका केन्द्रीय अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले गरेका थिए । ४०० पृष्टको पुस्तक हङकङ निवासी शम्सेर तुम्बाहाङफेले प्रकाशित गरेका हुन । पुस्तकको मूल्य ५९९ रुपैयाँ राखिएको छ ।