धरान : राजनीतिमा बिपी कोइराला र साहित्यमा विश्वेश्वरप्रसाद कोइराला बितेको ४४ औँ वर्षमा अहिले कक्षा ९÷१० मा पढिरहेका विद्यार्थीहरूले उनको सम्झना कवितामा प्रकट गरेका छन् ।
उनीहरूका कवितामा २००७ साल, २०१७ साल पछि बिपीले प्रजातन्त्रको लागि गरेको आन्दोलन र सङ्घर्षको कुरा इतिहासमा पढेको आधारमा बनेको कल्पनाशील भावना प्रकट गरिएका छन् ।
धरानमा पहिलो पटक नेपाली काँग्रेसले बिपीलाई साहित्यिक रूपमा सम्झना गरेको हो । ४४ औँ बिपी स्मृति दिवसमा शनिवार धरान मोडल कलेजमा सुनसरी–१ क्षेत्रीय काँग्रेसको कविता प्रतियोगिता आयोजना गरेको हो ।
धरान,वराहक्षेत्र,भरौलका माविहरू समेत १९ सामुदायिक÷संस्थागत स्कुलहरूका कक्षा ९ र १० का विद्यार्थी २० जनाले प्रतियोगितामा कविता वाचन गरे । प्रतियोगिता बिपी विचारको माध्यमबाट नयाँ पुस्तामा काँग्रेसको सन्देश पुर्‍याउने माध्यम भएको सभापति सुजेन्द्र तामाङले बताए ।
वाचन गरिएका कविताहरू मध्ये ४ कविता नगद रुपया, प्रमाणपत्र सहित पुरस्कृत भए । प्रतियोगितामा प्रथम स्थान तमन्ना बान्तवा राई (पब्लिक हाई स्कुल)ले प्राप्त गरिन् । दोस्रो स्थान अपर्णा लिङदेन लिम्बु (विद्या भूषण स्कुल)ले प्राप्त गरिन् । तेस्रो स्थानमा रिदिमा भुजेल (युएन नवोदय स्कुल) सहिन् । सान्तवना पुरस्कार निश्चल गिरि (जडेजा मावि भरौल) पुरस्कार प्राप्त गरे । कविताका निर्णायक त्रय प्राडा.गोपालप्रसाद भण्डारी, सह–प्राडा. महानन्द तिम्सिना, वरिष्ठ पत्रकार हर्ष सुब्बा थिए ।
विजेताहरूलाई प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । उनीहरूलाई नगद राशी ८ हजार ५ सय, ६ हजार ५ सय, ४ हजार ५ सय र ३००० हजार रुपया प्रदान गरिएको छ । 
प्राज्ञ पोखरेलले प्रतियोगितामा सुनाइएको विद्यार्थीहरूका कविताको भावले इतिहास पुस्तान्तरण हुन्छ भन्ने कुरालाई पुष्टि गरेको बताए । नयाँ पुस्ता देशका सपुत महान् लेखक, साहित्यकारको विचारबाट अभिप्रेरित भएर नै कुनै पनि मुलुकको भविष्य निर्माण गर्न सच्चा नागरिक बन्ने गरेको उनको भनाई थियो ।
नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, महिला सङ्घ केन्द्रीय सदस्य कुसुम ओली, महेन्द्र क्याम्पस स्ववियु सभापति प्रसान राई, संयोजक भवानी प्रसाद ओझा, निर्णायक प्राडा गोपालप्रसाद भण्डारीले कविता वाचनबाट बिपीको सम्झना नयाँ पुस्ताका लागि प्रेरणा स्पद रहेको बताए ।