विश्व नेपाली साहित्य महासङ्घ (वेनेसाम) साउथ युके ले युद्ध साहित्य गोष्ठीको आयोजना हुने भएको छ । रिमेम्बरेन्स अर्थात् पप्पी डे को अवसरमा शनिवार ७ नोभेम्बर २०२० का दिन यो कार्यक्रम आयोजना गर्न लागिएको यस संस्थाका अध्यक्ष विजय हितानले जानकारी दिए।

रेमेम्बरेन्स डे को अवसर पारेर गोर्खाली सैनिक तथा लाहुरे जनजीवनमा आधारित सृजना वाचन कार्यक्रम भर्चुअल माध्यमबाट गरिन लागिएको हो । यस कार्यक्रममा युद्ध साहित्यकार रक्ष राईको विशेष उपस्थिति रहने संस्थाका सचिव अमित थेबेले जानकारी दिए । पल्टनेको फोटो कथा सङ्ग्रह हालै प्रकाशन गरेका कथाकार राईले युद्ध सौन्दर्य र लाहुरे तथा पल्टनियाँ साहित्यको विषयमा बोल्ने अपेक्षा गरिएको छ ।

आफ्ना सृजना सुनाउने र अरूका सृजना सुन्ने कार्यक्रमका साथै उक्त दिन औतारी साहिँला र फिफ्रा काहिँलाद्वारा लिखित हाम्रो अतीत हाम्रो मनु कविता सङ्ग्रहलाई गणेश पुनद्वारा समीक्षा गरिने कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएको छ ।

नेपालमा लाहुरे परम्पराले एउटा पृथक् संस्कार र संस्कृतिको निर्माण गरिसकेको परीपेक्ष्यमा यस्तो इतिहासको प्रवर्धन र संरक्षणमा टेवा पुर्‍याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

लाहुरे जनजीवन तथा पल्टनमा घटने घटना, अनुभव, संवेदना, पिडा तथा भोगाइमा आफ्ना गीत, गजल, कविता, मुक्तक, हाइकु जस्ता सृजना लिएर जो कोही पनि जुम मार्फत जोडिन सकिने छ । साहित्यमा कलम चलाउने सेवारत तथा निबृत गोर्खा सैनिक तथा सम्बन्धित ब्यक्तिहरुको बाक्लो सहभागिता रहने आयोजक संस्थाको ठुलो अपेक्षा छ । जुम आइडी साथै अन्य जानकारी विनेसाम साउथ युकेको आधिकारिक फेसबुक पेजमा पछि राखिने छ ।

बेलायतमा प्रत्येक वर्षको नोभेम्बर ११ तारिखका दिन रिमेम्बरेन्स डे मनाइन्छ । नोभेम्बर ११ का दिन प्रथम विश्वयुद्ध अन्त्य भएको हो र यस दिवसमा सम्पूर्ण युद्दहरुमा सहादत् सैनिकहरूलाई स्मरण गर्दै श्रदान्जली दिइन्छ ।