धरान : कोरोना महामारीको कारण लामो समय देखि बन्द रहेका धरानका निजी तथा संस्थागत विद्यालयहरू आइतबार देखि खुल्ने भएका छन् ।

धरान उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूलाई कसरी कक्षा सञ्चालन गर्ने रु भनेर मोडालिटी माग गरेको थियो । निजी तथा संस्थागत विद्यालयहरूले पनि उपमहानगरपालिकालाई ७ वटा मोडालिटी बुझाएको र सोही मोडालिटी अनुसार विद्यालय खोल्न भनेर उपमेयर मञ्जु भण्डारी सुवेदीले मौखिकरुपमा भनेकोले आइतबार देखि विद्यालय खुलाउने एसिसि धरान अध्यक्ष राजेन्द्र गुरुङले बताए ।

स्वास्थ्य प्रोटोकलको पालना गरी आइतबार देखि प्रावि तहका ४ र ५ कक्षा र मावि तहका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई पढाइने अध्यक्ष गुरुङले बताए । यसरी विद्यालय खुल्दा विद्यार्थी सङ्ख्या कम भए एक सिफ्ट र धेरै भएमा २ सिफ्टमा कक्षा सञ्चालन हुनेछ ।

बिहान १० बजे देखि १ बजे सम्म र १ बजे देखि ४ बजे सम्म दैनिक ३ घण्टाका दरले दुई सिफ्टमा कक्षा सञ्चालन हुनेछ । विद्यालयमा टिफिन नहुने र निजी तथा संस्थागत विद्यालयहरूले सञ्चालन गरेका स्कुल बसहरू पनि अहिले सञ्चालन नगर्ने बताइएको छ ।

यही मोडालिटीमा बिद्यालय खुल्दा कत्तिको सफल हुन्छ रु त्यही आधारलाई हेरेर बाँकी रहेका कक्षाहरू पनि स्वास्थ्य प्रोटोकलको पालना गरेर एक साता वा दश दिन भित्रमा सञ्चालनमा ल्याउने अध्यक्ष गुरुङले बताए ।
धरानमा रहेका ७७ वटा निजी तथा संस्थागत विद्यालयहरू रहेका छन् । विद्यालयमा अनिवार्य मास्क, स्यानिटाइजरको व्यवस्था र एउटा बेन्चमा २ जना मात्रै विद्यार्थी राखिनेछ ।