विराटचोक : 'नझरेका फूलहरू'को २० औँ शृङ्खला बुधवार सम्पन्न भएको छ ।

वरिष्ठ गायक दीप श्रेष्ठको जन्मोत्सव तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको हो । मोरङको विराटचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए । गायक श्रेष्ठको ७१ औँ जन्मदिनको उपलक्ष्यमा नझरेका फूलहरूद्वारा उनलाई सम्मान गरिएको थियो । कला, संस्कृति र गायन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका प्रस्तोता केपी घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर ढकालले श्रेष्ठले गाएका गीतले धेरै कालखण्ड पार गरे पनि अहिले पनि उत्ति नै सान्दर्भिक रहेको बताउँदै उनले नेपालको साङ्गीतिक क्षेत्रमा गरेको योगदानको चर्चा गरे । यस्तै २० औँ शृङ्खलासम्म पुर्‍याउन यहाँका उद्योगी, व्यवसायीलगायतले गरेको सहयोगको सम्मान गर्दै यस्ता कार्यक्रमले कला, भाषा, साहित्य, गीत, सङ्गीतका क्षेत्रमा लाग्ने नयाँ पुस्तालाई महत्त्वपूर्ण अवसर मिल्ने समेत बताए ।

कार्यक्रममा उपप्रमुख धनमाया तामाङले नगरले यस्ता कार्यक्रममा विशेष सहयोग गर्ने बताइन् । शुभकामना दिँदै साहित्यकार जेबी थुलुङले श्रेष्ठजस्ता गायकले गाएका त्यस बेला रेडियोमा सुनेका गीत आज गायकसँगै बसेर सुन्न पाउनु सुखद क्षण भएको बताए ।

सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापाले २० औँ शृङ्खला सर्वोत्कृष्ट भएको बताउँदै गायक श्रेष्ठको जन्म दिन सँगै बसेर मनाउन पाउनु यस क्षेत्रका कला र साहित्यप्रेमीहरुका लागि खुसीको क्षण भएको बताए । सङ्गीतकार तथा गोकुलम रिसोर्टका सञ्चालक रमेश कार्कीले जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

Deep shrestha bahar 2

कार्यक्रमलाई स्वागत गर्दै कार्यक्रम संयोजक कवि छवि वैरागी घिमिरेले लामो समयदेखि गर्दै आएको कार्यक्रममध्ये यो विशेष भएको बताए । कार्यक्रमको मुख्य उद्देश्य भनेको जिउँदोमा कला साहित्य गीत सङ्गीतका क्षेत्रमा सम्मान गर्ने उद्देश्य भएको बताए । यस्तै नेपाली कला भाषा साहित्यका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरिँदै आएको पनि उनले बताए ।

गायक श्रेष्ठले आफ्ना गीत सुनाउँदै २०२५ सालमा पुस १ गते राजा महेन्द्रको अगाडि गीत गाएर आफूलाई गायकको रूपमा परिचित गराएको ‘म पत्थरको देवता होइन...’ बोलको गीत दर्शकलाई सुनाएका थिए । धरानमा जन्मिएका गायक श्रेष्ठका सयौँ गीतहरू नेपालीको मनमस्तिष्कमा सजिएका छन् ।

कार्यक्रमको सभापतित्व मुख्य प्रायोजक पूर्वाञ्चल आविष्कार केन्द्रका सञ्चालक ज्ञान बस्नेत रहेका थिए । उनले उद्योग सञ्चालनका साथै कला साहित्यको विकासका लागि अन्य कार्यक्रममा समेत सहयोग गर्ने बताए ।

कार्यक्रमलाई मुख्य प्रायोजन पूर्वाञ्चल आविष्कार केन्द्र, ज्ञानु कङ्क्रिट ब्लक उद्योग, शुभारम्भ हेरी इक्युप्मेन्ट प्रा.लिई सुन्दरहरैंचा, जीबिबि कन्स्ट्रक्सन प्रा.लिई.इटहरीले गरेको थियो भने प्रायोजक गोकुलम रिसोर्ट प्रालिले गरेको थियो ।

कार्यक्रममा गायक दुर्गा पराजुली, भूपेन्द्र राई, गायिका भूमा अधिकारी, कविता पाँचकोटीले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।