धरान : धरान र 'धरान सहर' बोलको रेकर्ड गरी म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरूको प्रचार प्रसारमा थप मद्दत पुर्‍याएकोमा धन्यवाद दिँदै धरान सरोकार समाज, काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधवार आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ । 

'धरान सहर' बोलको गीतका गीतकार हर्क चुम्मे, सङ्गीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज, काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र अतिथिहरू आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं. १ ’को सह संयोजक  बासुदेब बराल, सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्य तथा  पर्यटन व्यवसायी एलिना मगर, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष  सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले  सम्मान पत्र र खादा लगाई  सम्मानित गरेका थिए ।

कार्यक्रममा बोल्दै अतिथि बासुदेब बरालले धरानको पर्यटन प्रवर्द्धन यस गीतले उल्लेखनीय भूमिका खेल्ने बताउँदै भविष्यमा अंग्रेजी सब टाइटल पनि गीतको भिडियोमा राखे सुनमा सुगन्ध हुने बताए ।

अध्यक्ष  प्रभु प्रसाद श्रेष्ठले धरान र यस वरपरका प्रमुख स्थलहरू सबै समेटेकोले एउटा उत्कृष्ट सृजना बनेको र यो गीत र म्युजिक भिडियो धरानको पर्यटनको प्रचार प्रसारको प्रमुख दस्ताबेज बनेकोले यसका सम्पूर्ण सर्जक तथा सहयोगी हात हरूलाई धन्यवाद दिए । कार्यक्रमको सञ्चालन नेमिता आङ्गबुहांगले गरेकी थिइन् ।