धरान : मोरङको बेलबारी नगरपालिकाकी उपमेयर एवम् गीतकार तथा कवियत्री तारा पराजुलीको रचना रहेको 'नाच्ने हो छमछमी' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

उपमेयर पराजुलीको रचना रहेको उक्त गीत बुधवार आर सी सापकोटाको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो।

पराजुलीको गीतमा गायिका सरु गौतम र गायक आर सी सापकोटाले स्वर दिएका छन्। हरेक वर्ष भाद्र महिनामा पर्ने नेपाली नारीहरूको महान् पर्व तीजलाई लक्षित गरेर बजारमा आउँदै गरेको उक्त गीतको सङ्गीत भीम बिसीले गरेका छन्।

वेभ रेकर्डिङ स्टुडियो अनामनगरले रेकर्डिङ गरेका गीतमा एरेन्ज नरेन्द्र वियोगीले गरेका छन्। म्युजिक भिडियोमा अहिलेका चर्चित कलाकारहरू मेक्सम खाती, बिना राउत, सोनी महत, कजिश श्रेष्ठ, लगायतका चर्चामा रहेका कलाकारहरूको अभिनय रहेको छ।

चर्चित कलाकारहरूको म्युजिक भिडियोमा प्रस्तुति रहेका कारण उक्त गीतले राम्रोसँग दर्शकको मन जित्ने गायिका सरु गौतमले बताइन । वर्षेनी नेपाली नारी जगतले गर्वका साथ उल्लासमय ढङ्गले मनाउने तीज पर्व पछिल्लो समय अनावश्यक भड्किलो हुँदै गएकोले तीज पर्वको मौलिकता र गरिमा जोगाउनुपर्ने गौतमको भनाइ छ।

‘तीज मौलिक र महिलाहरूको स्वतन्त्र र सार्वभौम पर्व बने मात्र यस पर्वको ऐतिहासिक सांस्कृतिक पक्ष जीवित रहने भएकाले सचेतना सँगै मनोरञ्जन पक्षलाई गीतमा समेटिएको उपमेयर एवम् गीतकार पराजुलीले भनिन्।

साथै गीतकार तारा पराजुलीले वर्तमान समयमा चर्चामा रहेका गायक गायिकाहरूले गीतमा स्वर दिएको, सङ्गीत क्षेत्रमा सफल संगीतकारद्वारा सङ्गीतबद्ध भएको र प्रतिभाशाली कलाकाकारहरुको अभिनय रहेकोले उक्त गीत सफल बन्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै सबै दर्शक श्रोताहरूलाई उक्त तीज गीतलाई सुनेर हेरेर माया गरिदिन आग्रह गरिन्।