धरान: पुषको चिसो मौषम, त्यसमाथि शनिबार विदाको दिन । घर, परिवारको न्यानो छोडेर हतपत्त कसैलाई निस्कनै मन लाग्दैन । तर, आज शनिबार कै दिन भएपनि इटहरीको तरहराबाट एक हुल युवाहरु धरानतिर हुइकिए ।
धरानकै पनि साहित्यप्रेमीहरु धरानको वडा नं १३ को कार्यालयमा भेला भए । जिरोपोइन्टस्थित वडा कार्यालयको माथिल्लो तलामा कार्यक्रम हल बनाइएको छ । उक्त हलमा आज बिहान ११ बजेदेखि नियमित सृर्जना वाचन कार्यक्रमको ८ औं श्रृंखला आयोजना हुदैथियो । कालकूट साहित्यिक मञ्च धरानले आयोजना गरेको यही कार्यक्रममा सहभागी हुन धरानका मात्र होइन, पुषको मुटु कमाउने जाडोलाई पनि वास्ता नगरी तरहराबाट पनि साहित्य प्रेमीहरु भेला भएका हुन् ।

साहित्यको उत्थान गर्ने उद्देश्यले गत बर्ष धरानका बिशेष गरी वडा नं १३ का साहित्य तथा सृर्जनामा सक्रिय युवाहरुले कालकूटलाई जन्माए । त्यसपछि कालकूटले धरानको साहित्यलाई उठाउन फरक खालको कार्यक्रमहरु गर्दै आएको छ । त्यसैमध्ये एक हो, नियमित सिर्जना वाचन । हरेक महिनाको पहिलो शनिबार यो श्रृंखला हुन्छ । आज शनिबार ८ औं श्रृंखलामा दुई कविको सृर्जना वाचन भएको थियो, एक थिए तरहराका युवा कवि विनय सरगम र धरानकी कवि शकुन्तला भुषाल ।
सृर्जना वाचनमा धरानकी कवि भुषालले सम्बन्धहरु टालटुल गर्दागर्दै, खै हामीले देशको माया गर्न सकेको, फरक आकाश र नानी, आउ हामी लाशको सौदा गरौं, अठोट लगायत ९ वटा कविता वाचन गरिन् । यस्तै, तरहराबाट आएका कवि सरगमले एक थोपा पानी, ढुंगा, काडा, तिम्रो आगमनलगायत ६ वटा कविता वाचन गरेका थिए । सृर्जना वाचन पछि दुवै कविलाई कालकूटका अध्यक्ष मणि राई गोठालेले सम्मान पत्र पनि प्रदान गरेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिका अन्र्तगतको धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फे प्रमुख अतिथि थिए भने वडा न. १३ का अध्यक्ष नेत्र काफ्लेलगायत साहित्य प्रेमीहरुको सहभागीता रहेको थियो । कालकूटको यसअघिको ७ औं श्रृंखलामा कवि प्रफुल्ला भण्डारीको सृर्जना वाचन थियो भने त्यसअघि श्रेष्ठ परिक्रमाको एकल गजल वाचन, दिलिप चाम्लिङ, कलम चेम्जोङ, बालकुमारी गुरुङ, सुरज हुक्पाचोङवाङ, कुमार प्रधान, एकराज थापालगायतको पनि सृर्जना वाचन भइसकेको कालकूटका सचिव कमल चेम्जोङले जानकारी दिए ।






![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































