धरान : धरानमा जारी २० औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. १७ सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार धरान रंगशालमा भएको खेलमा वडा नं. १९ लाई ४-२ गोल अन्तरले पराजित गर्दै वडा नं. १७ सेमिफाइनमा प्रवेश गरेको हो ।

साविक विजेता समेत रहेको वडा नं. १७ र अहिलेसम्मको धेरै पटक उपाधि जितेर रेकर्ड कायम गरेको वडा नं. १९ बीचको खेल अत्यन्तै प्रतिष्पर्धात्मक रहेको थियो । खेलमा वडा नं. १७ का तर्फबाट खेलको ३७ औं मिनेटमा मिलन राई गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । लगत्तै वडा नं. १७ कै दिवश सुनुवारले अग्रता दोब्बर पारे । २-० ले पछि परेको १९ नं. वडाको तर्फबाट निरज राईले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरी खेललाई २-१ को स्थितिमा ल्याएका थिए । खेलको ५४ औं मिनेटमा १९ नं.का तर्फबाट मिलन राईले गोल गरी खेललाई २-२ को स्थितिमा ल्याएका थिए । तर १७ नं. वडाका कृष्ण राईले २ मिनेट वित्न नपाउदै टोलीलाई पुनः अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा १७ नं. वडाका मिलन राईले गोल गर्दै टोलीलाई ४-२ गोल अन्तरको जित दिलाए ।

भोली वडा नं. ६ र वडा नं. १६ बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रनिङ कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले ११ हजार पाउनेछ भने उदयीमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीले भने ७ हजार ५ सय पाउनेछ । प्रतियोगिताको फाइनल खेल माघ ४ गते हुनेछ ।