धरान: धरानका सबै निजी तथा सामुदायिक विद्यालयहरुमा महिनावारी स्वास्थ्य सचेतना अभियान शुरु भएको छ ।

कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई उमेरसँगै आउने शारीरिक परिवर्तन महिनावारीबारे सचेत गराउन यो अभिायन थालिएको हो । स्कुलको पाठ्यक्रममा समावेश भएर महिनावारीबारे पढाई हुने भएपनि पर्याप्त छलफल नहुदा छात्राहरुले जति ज्ञान पाउनुपर्ने हो, त्यति पाउन नसकेको निष्कर्षसहित यो अभियानको थालनी भएको हो । रोटरी क्लब अफ धरान घोपाको पहलमा शुरु भएको यो अभियानमा वीपी प्रतिष्ठानको कलेज अफ नर्सिङ र धरान उपमहानगरपालिकाको पनि सहयोग छ ।

स्कुलमा महिनावारीबारे पढाई हुने गरेपनि कक्षामा छात्रा र छात्र दुवै सँगै हुने भएकोले पर्याप्त छलफल नहुने र छात्राहरुले आवश्यक ज्ञान नपाउने भएकोले यो अभियान शुरुवात गरिएको वीपी प्रतिष्ठानका वरिष्ठ चिकित्सक एवं अभियानका परिकल्पनाकार डा.बिक्रमप्रसाद श्रेष्ठले बताए । ‘यो अभियान धरानका सबै स्कुलका कक्षा ६ देखि १० सम्मका छात्राहरुमा पुर्याइनेछ, स्वास्थ्यकर्मीहरुले छात्राहरुलाई अलग्गै राखेर महिनावारीबारे खुलेर छलफल गर्छन्, र बुझाउनेछन्,’डा.श्रेष्ठले भने ।

यो अभियान धरान १२ स्थित पब्लिक हाईस्कुलमा दुई पटक आयोजना भइसकेको छ भने सोमबार शिक्षा सदन माविमा पनि भएको छ । प्रतिष्ठानको कलेज अफ नर्सिङ, डिपार्टमेन्ट अफ कम्युनिटि हेल्थ नर्सिङकी एसिस्टेन्ट प्रोफेसर शर्मिला श्रेष्ठले छात्राहरुलाई महिनावारीबारे आवश्यक जानकारी गराएकी थिइन् । उनले प्रयोगात्मकरुपमा नै महिनावारी कसरी हुन्छ? महिनावारीको चक्र कस्तो हुन्छ ? त्यसबेला के सावधानी अपनाउने र कस्तो सामग्री प्रयोग गर्नेजस्ता कुराहरु बुझाएकी थिइन् ।

health1

महिनावारी सम्बन्धी विद्यालयको पाठ्यक्रमा रहेपनि अझ सचेतना गराउनु जरुरी रहेको एसोसियट प्रोफेसर श्रेष्ठले बताइन् । ‘महिनावारी अलिक सेन्सेटिभ विषय भएकोले छोरी नानीहरु खुलेर भन्न नसक्ने धकाउने भएकोले छुटै राखेर सचेतना गराउनु जरुरी छ’ उनले भनिन् ‘एक त स्वास्थ्यसंग जोडिएको हुनाले महिनावारी भएको बेलामा के गर्न हुन्छ ?, के गर्न हुदैन ? त्यो थाहा नभइरहेको हुन्छ त्यस बारेमा उनीहरुलाई सचेतना गराउनु आवश्यक छ ।’

पब्लिकका प्रअ इन्द्रमोहन झाले यो अभियानले छात्राहरुलाई धेरै लाभ पुग्ने बताए । झाले महिनावारीकै कारण छात्राहरु नियमित विद्यालय नआउने र आएका विद्यार्थी पनि विदा मागेर घर जाने गरेको बताए । तर, पब्लिक माविमा गत वर्षदेखी अटोमेटीक प्याड वितरण गर्ने मेसिन राख्नाले त्यो संख्या अलिक घटेको प्रअ झाले बताए । अझ विद्यालयमा आएर छात्रा विद्यार्थीहरुलाई महिनावारी सम्बन्धी सचेतना कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेमा विश्वास व्याक्त गरे । ‘महिनावारीको कारण विद्यालय नआउदा उनीहरुको पढाइ विग्रने हुँदा गत वर्षदेखी स्कुलमा प्याड पाउने व्यावस्था गरेका छौं त्यसले ठुलो सहयोग गरेको छ’ उनले भने ‘अझ विद्यालयमा आएर महिनावारी सम्बनधी सचेतना कार्यक्रमले महत्वपूर्ण भमिका खेल्छ, यो आवश्यक छ ।’ उनले पहिलो महिनावारीमा छात्राहरुलाई अझ धेरै डराउने हुनाले यसरी बेलैमा सचेतना गराउदा उनीहरुलाई सहज हुने बताए ।