धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति नियुक्तीको लागि आवेदन माग गरिएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सार्वजनिक सुचना जारी गर्दै उपकुलपति छनोटका लागि आवेदन माग गरेको हो । मन्त्रालयले उपकुलपतिमा सिफारिशको लागि आन्तरिक रोष्टर सुची बनाउनको लागि इच्छुक व्यक्तिहरुले ५ दिनभित्र आवेदनसहित विवरण पठाउन माग गरेको छ । मन्त्रालयले बायोडाडा र व्यक्तिगत विवरण मन्त्रालयको इमेल वा नीति, योजना तथा अनुगमन महाशाखामा बुझाउन भनेको छ । मन्त्तालयले सुचीको आधारमा नै उपकुलपतिको लागि नाम सिफारिश गर्ने बताइएको छ ।

vc-roster

प्रतिष्ठानको कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति सिफारिश गर्न सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका छन् । समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य उषा झा र अर्थ मन्त्रालयका सचिव राजन खनाल सदस्य छन् । यो समितिले ३ जनाको नाम उपकुलपतिमा सिफारिश गर्नेछ । ती मध्ये एक जनालाई उपकुलपति नियुक्ती हुनेछन् ।

नगद ८ लाख घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका तत्कालिन उपकुलपति डा.राजकुमार रौनियारलाई पक्राउ गरेको थियो । उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बनमा परेका थिए । त्यसयता प्रतिष्ठानको उपकुलपति पद रिक्त छ । मन्त्रालयले रेक्टर डा.गुरु खनाललाई नै कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएको छ ।