मुम्बई : बलिउड अभिनेत्री कंगना रनौटले दीपिका पादुकोणलाई एसिड आक्रमणबाट पीडितहरुमाथि व्यंग्य गरेको आरोप लगाएकी छन् ।

अभिनेत्री पादुकोणको ‘छपाक’ फिल्म प्रमोशनको दौरान तयार गरिएको भिडियोमा मेकअप आर्टिस्टसँग मिलेर एसिड आक्रमणबाट पीडितमाथि व्यंग्य गरेको तर्क रनौटले गरेकी छन् । सो भिडियोलाई लिएर सामाजिक सञ्जाल विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा अभिनेत्री रनौटले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै भनिन्, ‘मेरी बहिनी रंगोली एसिड आक्रमणकी पीडित हुन् । सो भिडियोले उनलाई ठेस पुर्याएको छ । मेरी बहिनीजस्तै अन्य पीडितहरुलाई यस भिडियोले पीडा दिएको हुँदा दीपिकाले माफि माग्नुपर्छ ।’

यसअघि रनौटको अभिनयको तारिफ गरेकी अभिनेत्री पादुकोणले यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । अभिनेत्री रनौटको ‘पंगा’ फिल्मको ट्रेलर हेरेलगत्तै पादुकोणले उनको अभिनयको तारिफ गरेकी थिइन् । यसअघि उनले सन् २०१४ मा ‘ह्याप्पी न्यू इयर’फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड रनौटलाई समर्पित गरेकी थिइन् । अश्विनी आययर तिवारीद्वारा निर्देशित पंगा फिल्ममा अभिनेत्री रनौटसहित जेसी गिल, ऋचा चडडा र निना गुप्तालगायत कलाकारले अभिनय गरेका छन् । यो फिल्म आगामी जनवरी २४ मा रिलिज हुँदैछ ।