धरान: क्यान्सरको उपचारको क्रममा निधन भएका धरानका पुर्वमेयर ध्यानबहादुर राईप्रति धरानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।

ध्यानबहादुर राई बचाउ अभियानको पहलमा भानुचोकस्थित घण्टाघरमा बुधबार श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । श्रद्धाञ्जली सभामा स्वर्गीय राईको सालिक निर्माण गर्ने घोषणा पनि गरिएको छ । ध्यानबहादुर राई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठले धरान १७ स्थित सप्तरंगी पार्कमा स्वर्गीय मेयर राईको सालिक बनाउने पहिलो प्रस्ताव अघि बढाइएको जानकारी दिए । सप्तरंगी पार्क स्वर्गीय राई मेयर भएको बेला संरक्षण गरिएको थियो । सर्दुको बगरकोरुपमा रहेको जग्गालाई सप्तरंगी पार्ककोरुपमा उनको कार्यकालमा संरक्षण गरिएको थियो ।

उनका अनुसार १३ औं दिनमा बृहत् श्रद्धाञ्जली सभा गरिनेछ भने सोही दिन सालिकको शिलान्यास पनि गरिने श्रेष्ठले बताए । घण्टाघरमा स्वर्गीय राईप्रति श्रद्धाञ्जली अर्पण गर्न तस्बिर र पुस्तिका १३ दिनसम्म राखिने बचाउ अभियानले जनाएको छ । यो अवधिमा कुनै संघ संस्थाले समबेदना पत्र, श्रद्धाञ्जली पत्र समेत राख्न सक्नेछ । ती पत्रहरु मृतक राईको परिवारसम्म पुर्याउने व्यवस्थ गरिने अभियानकर्मीहरुले बताएका छन् ।

dhyan-sir1

श्रद्धाञ्जली सभामा पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले धरान वर्तमान अवस्थासम्म आइपुग्नुमा पुर्वमेयर राईको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरे । मेयाङ्बोले आज भन्दा २० बर्षअघिको धरानको सम्झना गर्दा पुरै खण्डहर भएको र ग्राभेलसम्मको अवस्था पनि नभएको बेला आफुहरु जनप्रतिनिधि भएको स्मरण गरे । २०४६ सालको जनआन्दोलपछि भएको स्थानीय निकाय चुनावबाट ध्यानबहादुर मेयरमा र मनोज मेन्याङ्बो उपमेयरमा निर्वाचित भएका थिए ।

मेयर राईको पालामा भएको विकासको अवधारणाले नै आजको धरान बनेको मेन्याङ्बोले बताए । 'उहाँको कार्यकालमा म उपमेयर भएर पाँच बर्ष काम गरेको थिएँ, त्यसैले उहाँको पालामा कोरिएको डिजाईनले नै मलाई अर्को ५ बर्ष मेयरमा निवार्चित भएपछि मेरो कार्यकालमा मार्गदर्शक भयो,'उनले भने,'उहाँको पाँच बर्ष र मेरो पाँच बर्ष कार्यकाल स्वर्णकाल हो ।' उनले ध्यानबहादुर राई स्वयं प्राबिधिक पनि भएकोले धरानको बिकास निर्माणको डिजाइन भएको र आफुलाई पनि सहज भएको बताए । बुधबार श्रद्धाञ्जली कार्यक्रम शिव वान्तवाको संयोजकत्वमा भएको थियो ।