धरान : धरान बास्केटबल संघले प्रशिक्षकसहित पाँच जना खेलाडीहरुलाई सम्मानित गरेको छ । मंगलबार धरानको होटल सन्ध्या इनमा एक कार्यक्रमको आयोजना गरी प्रशिक्षक विकास चाम्लिङसहित पाँच जनालाई सम्मानित गरिएको हो । दक्षिण एशियाली खेलकुद प्रतियोगितामा (साग) गेममा महिला बास्केटबल टिमले रजत पदक जितेका थिए । उक्त टिमका प्रशिक्षक चाम्लिङ र सागमा रजत पदक विजेता राष्ट्रिय टिमका महिला खेलाडी डा. आशा राईलाई नगद ५ हजार रुपैयाँसहित सम्मानित गरियो ।

उनीहरुलाई प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी, संघका अध्यक्ष सुरज लामालगायतले नगद तथा सम्मानपत्रसहित सम्मानित गरेका थिए । यसैगरी, २०१९ मा बंगलादेशको ढाकामा भएको अण्डर १६ राष्ट्रिय टिममा सहभागी बैभव योगी, १३ औं सागमा अफिसियल राष्ट्रिय रेफ्रि शिशिर पोख्रेल र २०१० मा भारतको बंगलोरमा भएको अण्डर १८ राष्ट्रिय टोलीमा सहभागी रवि बास्फोरलाई समेत सम्मानित गरियो । बास्केटबल खेलबाट अन्तराष्ट्रियसम्म देशको शिर उचो राख्ने काम गरेको भन्दै उनीहरुलाई सम्मानित गरिएको हो ।

साग गेममा कार्यक्रममा बोल्नुहुदै सभामुख भण्डारीले राष्ट्रलाई चिनाउन खेलकुदले महत्वपूर्ण भुमिका खेल्ने बताए । खेलाडीहरुले खेलकुदको क्षेत्रमा योगदान पुर्याउनुका साथै देशको शिर उचो पार्ने कार्य गरेको भन्दै खुशि व्याक्त गरे । कार्यक्रममा प्रशिक्षक विकास चाम्लिङले बास्केटबलको क्षेत्रमा ४० वर्ष पछि धरानले यो उपलब्धी हाशिल गरेको बताए । संघका अध्यक्ष एबंम नेपाल बासकेटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले संघले स्थानीयस्तरमा खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेलिरहेको बताए । उनले सबै खेलको विकासमा राज्यले समान प्राथमिता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा खेलकुदसंग सम्बन्धीत व्याक्तिहरुको सहभागीता थियो ।