काठमाडौं  : मच्छिन्द्र फुटबल क्लबले पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै मच्छिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो ।

फाइनलसरह रहेको अन्तिम खेलमा मच्छिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । रञ्जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्नेक्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए ।

मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । उपाधि जित्नेक्रममा मच्छिन्द्रले आर्मीलाई २ अंकले पछि पार्‍यो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । उपाधिसँगै मच्छिन्द्रले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाख पायो । लिगमा २८ अंक जोडेको मनाङ-मर्स्याङ्दी क्लब तेस्रो भयो । मनाङले २५ लाख रुपैयाँ पायो । २६ अंक जोडेको थ्रीस्टार चौथो, २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं र १९ अंक जोडेको जावलाखेल युथ क्लब छैटौं भयो । थ्रीस्टारले १५ लाख, पुलिसले सात लाख तथा जावलाखेलले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो । १४ क्लब सहभागी ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लब पुछारमा रहँदै ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

उत्कृष्ट

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक मनाङका दीप कार्की, उत्कृष्ट डिफेन्डर थ्रीस्टारका अनन्त तामाङ घोषित भए भने उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका विशाल राई ‘बी’ भए । उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास घोषित भए ।

त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रकै प्रवेश कटुवाल भए । उनीहरु सबैलाई जनही डेढ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट नवयुवा खेलाडीको पुरस्कार ‘एनआरटी’का दर्शन गुरुङले हात पारेका छन् । गुरुङले नगद एक लाख रुपैयाँ हात पारेका छन् ।